
काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरिजामा फेरि हमला भएको छ । रुसको नियन्त्रणमा रहेको उक्त ऊर्जा केन्द्रको कार्यालय र अग्नि केन्द्रमा दशवटा हमला भएको बीबीसीले जनाएको छ । रुसी संचारमाध्यमहरुका अनुसार युक्रेनले केही दिनदेखि असंवेदनशील बन्दै केन्द्रमा हमला गरिहरेको छ । युक्रेनले आफ्नो नियन्त्रणमा ल्याउन हमला गरिरहेको छ । सैन्य कारवाही सुरु गरेको केही दिनमै उक्त केन्द्र रुसी सेनाको कब्जामा गएको थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताएका छन् । यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ । राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएको बीबीसीले जनाएको छ ।
बुधवार मात्रै जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो । पश्चिमा देशहरुले जानीजानी केन्द्रमा हमला गरिरहेको रुसले आरोप लगाएको छ । उता अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ ।
उता युक्रेनले पनि रुसले हमला गरेको आरोप लगाउँदै विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको बताएको छ । मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि हमला भएको थियो ।
युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर, रुसले उक्त आरोप निराधार भएको बताउँदै युक्रेन हमला गरिहरेको बताएको छ ।
पछिल्ला हमलामा परी युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ । त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ ।
केन्द्रको सुरक्षामा खटिएका अधिकारीहरुले युक्रेनले हमला गरेको बताएका छन् । उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन् ।
बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे । आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिनुपर्ने बताए । यो परमाणु केन्द्रमा छ वटा प्रेसराइज्ड वाटर रियाक्टरहरू छन् र रेडियोधर्मी विकारहरू पनि छन् ।