
काठमाडौँ । म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ । सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि यो पहिलो सजाय हो । त्यस्तो सजाय पाउनेमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई रहेको बीबीसीले जनाएको छ ।
सेनाले जुन महिनामा मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो । प्रजातन्त्रवादी नेतृ आङ सान सू चीले नेतृत्व गरेको न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो ।
सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो । कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।
प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई अत्याचार र हत्याका लागि सैन्य जुन्टालाई सजाय दिन आग्रह गरेको छ । राज्यनियन्त्रित समाचारसंस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले ती चार जनालाई निर्मम र अमानवीय आतङ्ककारी गतिविधिलाई निर्देशित र व्यवस्थापन गरेर षड्यन्त्र गरेका कारण मृत्युदण्ड दिइएको बताएको छ ।
समाचारमा उनीहरूलाई प्रतिआतङ्कवाद कानुनअन्तर्गत सजाय दिइएको बताइए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने स्पष्ट पारेको छैन । संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मारमा यसअघि सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो ।
बीबीसी बर्माका अनुसार ती चार जनामा परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका छन् । समाचारसंस्था रोएटर्सका अनुसार फ्योकी पत्नी थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताएको बीबीसीले जनाएको छ ।
ती चार जनालाई गत जनवरीमा बन्द इजलासभित्र मृत्युदण्डको सजाय सुनाइएको थियो । मानवाधिकारवादी समूहहरूले सो सुनुवाइलाई अन्यायपूर्ण र अपारदर्शी भनेर आलोचना गरेका थिए । फ्यो र को जिम्मी नामले चिनिने क्यो मीन यु दुई जना जुन महिनामा पुनरावेदनमा हारेका थिए ।
नेतृ आङ सान सू चीका निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद थिए । त्रिपन्न वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी सन् २०१२ मा निस्किनुअघि धेरै पटक प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका कारण जेल परेका थिए । उनलाई गत वर्ष अक्टोबरमा याङ्गुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा गिरफ्तार गरिएको थियो ।
सू चीसँग निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद थिए। उनी हिपहप कलाकार थिए । फ्यो सैन्य शासकविरुद्ध कडा अभिव्यक्तिका कारण सेनाको निसानामा परेका थिए। उनलाई गत नोभेम्बरमा गिर फ्तार गरिएको थियो ।
यसैबीच राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको“ बताएका छन्।
कूयता सू ची नजरबन्दमा छिन् भने उनलाई भ्रष्टाचारलगायतका आरोपहरू लगाइएको छ । ती सबै आरोपमा दोषी ठहरिए उनलाई १५० वर्षसम्म जेल सजाय हुन सक्छ । कूयता म्यान्मार सेनाले १४,८४७ जनालाई गिरफ्तार गरेको र २,११४ जनालाई मारेको तथ्याङ्क एएपीपी नामक संस्थाको छ ।
नेतृ सुकीको अहिले पनि सेनाले नजरबन्दमै रोको छ।