काठमाडौँ । दलित समुदायका महिलाहरूको राष्ट्रिय सञ्जाल दलित महिला सङ्घ (फेडो)को अध्यक्षमा रेणु सिजापति निर्वाचित भएकी छन्।
बुटवलमा सम्पन्न छैटौँ महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। महिला अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय सिजापति यसअघि संघको महासचिब थिइन्।
महाधिवेशनबाट संघको उपाध्यक्षमा सरस्वती मण्डल, महासचिवमा हेमा सुनार, सचिवमा सिवानी ल्वागुन र कोषाध्यक्षमा जानुका घताने निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा सीता मिजार, सुमित्रा गायक, निर्मला विक, रेजिना हिमाङ्ग र रोजिना घताने सर्बसम्मत निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई सोमबारै निवर्तमान अध्यक्ष कला स्वर्णकारले कार्यभार हस्तान्तरण गरेकी छन्। सातै प्रदेश र जिल्लामा समेत संघका शाखा कार्यसमितिहरू रहेका छन्।
संस्थाले महाधिवेशनको अवसरमा संस्थापक अध्यक्ष दुर्गा सोब र निवर्तमान अध्यक्ष कला स्वर्णकारलाई सम्मान समेत गरेको छ।


अनलाइन डबली

