आज :

टिकटकबाट प्रेममा परेपछि अपहरण, प्रहरीको फन्दामा परेपछि खुल्यो यस्तो बेग्लै रहस्य

  • अनलाइन डबली

काठमाडौँ । आफ्नै अपहरणको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सप्तरी राजगढ गाउँपालिका-३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। कृष्णकुमार असार १ गतेबाट बेपत्ता भएका थिए। उनी फर्निचरको काम गर्छन्।

त्यसदिन आइएमईबाट घरमा पैसा पठाउँछु भन्दै उनी हिँडेका थिए। तर घर फर्किएनन्। उनले मोबाइल पनि स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए।

बेपत्ता भएको भोलिपल्टै सामाजिक सञ्जाल इमोमार्फत् कृष्णकुमारले आफ्ना सालालाई केही तस्बिरहरू पठाए। तस्बिरसँगै भनिएको थियो, ‘कृष्णकुमार अपहरणमा परेको छ। उसलाई मार्न आठ लाख पाइसकेको छु। २० लाख दिए फर्काउँछु।’

तस्बिरमा उनको कपडा च्यातिएको र रगतजस्तो लागेको देखिन्थ्यो। प्रहरीकोमा नजान भन्दै चेतावनी पनि दिइएको थियो। माग गरेको २० लाख दुई दिनभित्रै रकम बुझाउन भनिएको थियो।

‘आफू घाइते भएको जस्ता तस्बिरहरू पठाएका थिए,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘त्यसपछि आत्तिएर परिवार प्रहरी कार्यालयमा आए।’

मार्ने धम्कीसहित फिरौती मागेपछि पीडित परिवार प्रहरी वृत्त सातदोबाटोमा पुगेको थियो। सातदोबाटो वृत्तले पनि अपहरण नै भएको हुनसक्ने भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोग माग्यो।

अनुसन्धान गर्दै जाँदा प्रहरीले कृष्णकुमारलाई विराटनगरमा सुरक्षित फेला पार्‍यो। सुरक्षित मात्रै होइन उनको त अपहरण नै नभएको खुल्यो।

अपहरणको नाटक गरेको थाहा पाएपछि प्रहरीले उनीसँग सोधपुछ गर्‍यो। सोधपुछ गर्दा कृष्णकुमार प्रेममा परेको खुल्यो। उनी विवाहित हुन्। उनका दुई जना छोरा र छोरी पनि छन्।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार टिकटक चलाउने क्रममा उनले त्यहाँ एक ‘सुन्दर’ युवतीलाई भेटेका रहेछन्। जोसँग उनको प्रेम भयो।

‘उनले टिकटकमा एक जना युवती भेटेका रहेछन्। उनीसँग प्रेम भएको रहेछ,’ प्रहरी उपरीक्षक कोइरालाले भने,‘ती महिलासँग विवाह गर्नको लागि पैसा चाहियो। अनि अपहरणको नाटक गरेको रहेछ।’

अर्को विवाह गर्ने पैसाचाहिँ उनले आफ्ना सालोबाट लिन खोजेका थिए। उनका साला पनि सँगै बस्छन्। दुबै जना फर्निचरकै काम गर्छन्।

प्रहरीले उनीमाथि सार्वजनिक उपद्रवाई गर्न नहुने कसूरमा थप अनुसन्धान अघि बढाएको छ। उनलाई कार्यालयले प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal