काठमाडौँ । रुसले यूरोपलाई अहिलेसम्मकै कडा चेतावनी दिएको छ । रुसी संसदका अध्यक्ष भोचेस्ला भोलोदिनले युक्रेनलाई यूरोपले परमाणु हतियार दिए उसको नाम विश्व नक्साबाटै मेटिने गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।
पोल्याण्डका पूर्व विदेशमन्त्री सिकोरस्कीले युक्रेनलाई परमाणु प्रहार अस्त्र प्रहार गर्न सक्ने हतियार दिन सकिने बताएका थिए । उनले यूरोपले युक्रेनलाई परमाणु हतियार सहयोग गर्न सकिने बताएका थिए । त्यसको जवाफ स्वरुप भोलोदिनले युक्रेनलाई परमाणु हतियार दिए पोल्याण्डसँगै पूरै यूरोपलाई ध्वस्त बनाइदिने चेतावनी दिएका हुन् ।
यसैबीच रुसले युक्रेनमा सैन्य कारवाही झन् भिषण बन्दै गएको छ । भिषण लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएका छन् । अब यो शहरमा थप युक्रेनी फौज जान सक्दैनन् ।
स्थानीय गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएको बताउँदै आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए । उनले अहिलेकै जस्तो हमला जारी रहे अबको केही घण्टामा रुसी सेनाले पूरै शहर पूर्णरुपमा नियन्त्रणमा लिन सक्ने बताए ।
रुसले युक्रेनी अधिकारीहरुलाई आफ्ना फौजलाई सैन्य केन्द्रहरुबाट बाहिर निकाल्न भनेको छ । आफूले चारैतिबाट घेराउ गरिसकेको बताउँदै रुसी अधिकारीहरुले आत्मसमर्पण गरेर ज्यान जोगाउन भनिरहेका छन् । सेभेरोडोनेट्स्क जोड्ने तीनवटै पुलहरू रुसी सेनाले ध्वस्त बनाएको हाइडाईले टेलीग्राममा पोस्टले पनि बताएको बीबीसीले जनाएको छ ।
डोनबास र लुहान्स्क क्षेत्रलाई पूर्णरुपमा कब्जामा लिन रुसले हप्तौँदेखि सो क्षेत्रमा भिषण हमला गरेको थियो । सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुने बताइएको छ । यसअघि नै यी क्षेत्रका अधिकांश भूभागहरु वि द्रोहीहरुले नियन्त्रण कायम गरेका थिए ।
यसैबीच युक्रेनका भोलोदोमिर जेलेन्स्कीले आफ्ना हतियार गोदाम खाली हुँदै गएको बताउँदै पश्चिमा देशहरुसँग थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । रुससँग प्रतिवाद गर्ने हतियार उपलब्ध नभए रुसलाई पछि धकेल्न नसक्ने बताएका छन् । उनको यो भनाईलाई हार स्वीकारको रुपमा समेत अर्थ लगाइएको छ । जेलेन्स्कीको यो भनाईपछि अमेरिका र उसलाई अहिलेसम्म सहयोग गर्दै आएका देशहरु पनि झस्किएका छन् । जेलेन्स्की पछि हटे आफूहरुको लागनी खेर जान सक्नेमा उनीहरु चिन्तित रहेको बताइएको छ ।
यसअघि युक्रेनी सेनका एक कमाण्डरले रणमैदानबाटै आफूहरुले रुसी सेनाको आर्टिलरी सिस्टमल आफूहरुको पोजिशन ध्वस्त पारेको बताएका थिए । उनले आफूहरुलाई आर्टिलरी सिस्टमसहितका हतियार उपलब्ध नभए रुससँग हार्ने बताएका थिए । उनले माग गरेको हतियारको संख्या अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनलाई उपलब्ध गराएको हतियारको संख्या भन्दा बढी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।