
काठमाडौं । त्रिशुली थ्री ए काे २ सय २० केभी विद्युत प्रशारण लाइनमा दिनभर हिँडेका युवालाई नेपाली सेनाले निकालेको छ । विहान ९ बजेबाट नुवाकोटको ककनी गाउँपालिकास्थित प्रशारण लाइनमा हिँडेका पुरुषको ८ घण्टापछि हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।
सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको थियो । ककनी गाउँपालिका-७ स्थित त्रिशुली-मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का काले भनिने प्रेम विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएपछि नेपाली सेनालाई उद्धारकाे लागि आग्रह गरिएको थियो ।
नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहका अनुसार नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उसलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला भनेर चिनिने प्रेम विक हुन् । उनी मानसिक रोगी रहेको स्थानीयले बताएका छन् । बिकले घरपरिवारमा सधैं झगडा गरिरहेन गर्थे । शनिबार विहानै पनि घरपरिवाले रिसाएपछि एकाएक विद्युत प्रसारण लाइनमा चढेका थिए ।
यसअघि उर्जामन्त्री पम्फा भुसालले बिकको उद्धारको लागि नेपाल सेनालाई आग्रह गरेकी थिइन् । स्थानीयले उनलाई भूँइमा झर्न भन्दै विभिन्न आश्वास दिएका थिए । तर उनले नमानेर प्रशारण लाइनमै झुण्डिएर हिडिरहेका थिए ।
स्थानीयका अनुसार उनले परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेका थिए । स्थानीयले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेका थिए ।