
काठमाडौँ । मंगलबार मध्यराति नेपाल-भारत सीमावर्ती क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका ३, खैरागाउँबाट दक्षिणतर्फ भारतको सितामढी जिल्लाको श्रीखण्डी ग्राम पञ्चायत-४ का स्थानीयले पानीको बहाव नेपालतर्फ फर्काउन स्काभेटरले खनेको कुलो सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले भत्काएर पुरानै अवस्थामा कायम गरेको हो ।
भारतले कुलो खनेको स्थान नेपाल-भारत सहायक सीमा स्तम्भ ३००/६ (४) नम्बरबाट ३ मिटरभित्र पर्छ । भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपालतर्फै फर्किन्छ तर सशस्त्रले कुलोको स्थान पुरेपछि पानीको बहाव छेकिएर नेपालतर्फै फर्किने सम्भावना अहिलेलाई टरेको हो ।
नेपालतर्फ पानीको बहाव फर्काउन एकतर्फी कुलो/नहर खन्ने केही भारतीयलाई स्काभेटरसहित नियन्त्रणमा लिई सचेत गराएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको महोत्तरीस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय स्रोतले जानकारी दियो ।
मध्यरातमा भारतीयले स्काभेटर प्रयोग गरी कुलो खन्न थालेको सूचना पाएपछि नेपालतर्फको खैरागाउँका स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए । त्यसको केहीबेरमा जलेश्वरस्थित बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको सशस्त्रको टोलीले स्काभेटरसहित केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि नजिकै भिट्टामोडमा रहेको भारतीय सशस्त्र सीमा बल (एसएस)सँग समन्वय गरेर सशस्त्रले नियन्त्रणमा लिइएका व्यक्तिलाई माफी मगाएर जिम्मा लगाएको थियो । गत जेठ १८ मा मात्रै कञ्चनपुरको दोधारा-चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न एसएसबी र भारतीय सशस्त्र वन रक्षकले गाडेको सिमेन्टको पोल र काँडेतार सशस्त्र प्रहरीले हटाएको थियो ।
त्यसअघि वैशाख २९ मा कञ्चनपुरको दोधारा–चादनी नगरपालिका ३ बडुवालटोल नजिकै नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै स्काभेटर र अरु उपकरण प्रयोग गरी बनाएको ढुंगा र माटोको अग्लो संरचना पनि सशस्त्रले भत्काइदिएको थियो ।
यी तीनवटा तथ्यले पनि वर्षात्को समय नजिकिएसँगै भारतीय पक्ष नदी/खोला/खोल्सी र भलबाढीको प्राकृतिक बहाव छेक्न तल्लीन रहेको देखिन्छ ।
सीमा क्षेत्रका जिल्ला प्रशासन र सशस्त्र प्रहरी मुख्यालयले कञ्चनपुर र महोत्तरीमा जस्तै अरु ठाउँमा पनि वर्षात्को समयमा सीमा क्षेत्रमा भारतीय पक्षबाट अनधिकृत संरचना बनाई नेपालतर्फ बाढी फर्काउन सक्नेप्रति सचेत रहन निर्देशन दिएको स्रोतको भनाइ छ ।
नेपालको झापादेखि कञ्चनपुरसम्मको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइको सीमा क्षेत्रमा नदी तथा खोलाको प्राकृतिक बहाव थुनेर भारतले डेढ दर्जनभन्दा बढी स्थानमा बाँध तथा तटबन्ध बनाएको छ ।
यसबाहेक वर्षात्को समयमा सीमा क्षेत्रमा नेपालबाट प्राकृतिक रुपमा बग्ने पानीको बहाव छेक्न पनि भारतीय पक्षबाट तटबन्धदेखि अन्य अग्ला संरचना बन्ने गरेका छन् ।
संरचना निर्माणले पूर्णता नपाउँदै कतिपय संरचना स्थानीय प्रशासन र सीमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीले हटाए पनि संरचना बनिसकेपछि हटाउन भने भारतीय पक्षले अटेर गर्दै आएको छ ।