आज :

बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जनालाई छाडियो, यस्तो छ तयारी

  • अनलाइन डबली

काठमाडौँ । बञ्चरेडाँडाबाट बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित तीन जनालाई प्रहरीले बिहीबार बिहान छाडेको छ। प्रधानमन्त्रीले नै संघर्ष समितिसँग वार्ता गरी समस्याको निकास खोज्ने भनेपछि प्रहरीले उनीहरूलाई छाडेको हो।

बुधबार बञ्चरेडाँडामा काठमाडौंबाट लगेको फोहोर फाल्न नदिएपछि प्रहरीले ढुंगानासहित श्रीकृष्ण बजगाईं र तपन उप्रेतीलाई नियन्त्रणमा लिएको थियो। बुधबार दिउँसो २ बजेतिर समातिएका उनीहरूलाई रातभरि ककनी चौकीमा राखेर बिहीबार बिहान १० बजेतिर छाडिएको हो।

ककनी चौकीबाट छुटेर आएका संघर्ष समितिका संयोजक ढुंगानाले आफूहरूलाई बालुवाटारमा छलफलका लागि डाकिएको बताएका छन्। छलफलको समय भने तय भएको छैन।

‘बालुवाटारमा छलफल गर्न बोलाइएको छ भनेर हामीलाई छाडिएको हो,’ उनले भने, ‘हामी अहिले बालाजुमा छौं। बालुवाटारबाट बोलाउने भनिए पनि कुन समयमा जाने टुंगो लागिसकेको छैन।’

उनीहरू स्थानीय सहमतिबेगर बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्ने सरकारी निर्णयविरूद्ध आन्दोलित छन्। मंगलबार ठूलो संख्यामा प्रहरी परिचालन र बल प्रयोग गरेर फोहोर फालिएको थियो। कयौं स्थानीयलाई घरभित्रैबाट नियन्त्रणमा लिइएको थियो। यही क्रम बुधबार पनि जारी रह्यो।

बुधबार काठमाडौंबाटै दुई सयभन्दा बढी प्रहरी टोली परिचालन भएको थियो। स्थानीयहरूले डाँडामाथि चढेर प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीले पनि अश्रुग्यास प्रहार गरे। त्यस क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन्।

स्थानीयले फोहोर बोकेको टिपर बञ्चरे डम्पिङ साइट नपुगोस् भनेर बाटोमा विभिन्न अवरोध राखेका थिए। टिपर चालकहरू आफ्नो सवारी साधनमाथि क्षति पुग्न सक्ने भएपछि फोहोर नफ्याँकी फर्किए।

किन आन्दोलित छन् बञ्चरेका स्थानीय?
सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर सोमबार बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन। आफूलाई सोध्दै नसोधी जनप्रतिनिधिहरूले गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका छन्।

सरकारले काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि सिसडोल र बञ्चरेका बासिन्दालाई विश्वासमा लिनु जरूरी थियो। मुख्य सरोकारवाला भनेको प्रभावित क्षेत्रका स्थानीयहरू संलग्न संघर्ष समिति हो जसले १७ वर्षदेखि निरन्तर यो मुद्दा उठाउँदै संघर्ष गरिरहेको छ।

सरकारले वार्ता गर्नुपर्ने, माग सुन्नुपर्ने र विश्वास जितेर सम्झौता गर्नुपर्ने संघर्ष समितिसँग नै हो। जनप्रतिनिधिहरू भनेका यो मुद्दामा साक्षी किनारा मात्र हुन्। संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना प्रभावित क्षेत्रका बासिन्दाको प्रतिनिधित्वविना गरिएको सम्झौतालाई ‘भुलभुलैया’ को संज्ञा दिन्छन्।

‘यो सम्झौताले हाम्रो माग सम्बोधन गरेको छैन,’ उनले भने, ‘सरकारले पहिल्यै घोषणा गरेको र बजेटमा समेत परिसकेका कार्यक्रम मात्र समावेश गरेर हामीलाई झुक्याउन खोजिएको छ, हामी यो सम्झौता मान्दैनौं।’ उनले प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्ने बुँदाहरू सम्झौतामा नपरेको बताएका छन्।

उनका अनुसार प्रभावित क्षेत्र यकिन गरी जग्गा अधिग्रहण प्रक्रिया थालनी गर्ने कुरा सम्झौतामा उल्लेख भए पनि प्रभावित जग्गा कसरी निर्धारण गर्ने, विज्ञ टोलीमा को को रहने, अधिकरण प्रक्रिया कहिलेबाट सुरू गर्ने लगायत प्रश्न सम्बोधन भएको छैन।

छ महिनाभित्र अधिग्रहण सुरू गर्ने कुरा छलफलमा आए पनि सम्झौतामा समय किटान गरिएको छैन। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण सुरू गर्ने भनिएको छ तर त्यो प्रतिवेदन कहिलेसम्म प्राप्त हुन्छ, कहाँबाट प्राप्त हुन्छ भन्ने सम्झौतामा उल्लेख छैन।

टोली गठन हुने समय, अध्ययनको अवधि र अधिग्रहण सुरू गर्ने समय सम्झौतामै किटान हुनुपर्ने उनले बताए। यसबाहेक यो क्षेत्रमा रहेका गुठीका जग्गाहरू के गर्ने भन्नेबारे पनि सम्झौता मौन छ। यहाँका धेरै स्थानीय गुठीका जग्गा उपभोग गरिरहेका छन् जसको लालपुर्जा उनीहरूसँग छैन।

उनीहरूको जीविकाको मुख्य स्रोत त्यही गुठीका जग्गामा गरिने खेती हो। अधिग्रहण क्रममा गुठीका जग्गा सरक्क सरकारले लग्यो भने स्थानीयले केही पाउँदैनन्। उनीहरूको जीविका खोसिन्छ र मुआब्जा पनि हात पर्दैन। यसले उनीहरूको उठिबास हुने खतरा छ। सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने ढुंगाना बताउँछन्।

त्यस्तै फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्टयाउने र कुहिने फोहोरलाई मल कारखानामा लैजाने भनिएको छ। तर यो विषय पनि सम्झौतामा प्रस्ट छैन। कुहिने फोहोर कहाँ स्टोर गर्ने, मल कारखाना कहाँ राख्ने लगायत विषय यकिन नभएसम्म कार्यान्वयनमा शंका रहने ढुंगानाको भनाइ छ।

सरकारले साउन १ देखि नकुहिने फोहोर मात्र डम्पिङ साइटमा ल्याउने भने पनि त्यो बेलासम्म मल कारखाना खुलेन भने सम्झौताले स्वतः हावा खाने ढुंगाना बताउँछन्। स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था पनि सम्झौताले नसमेटेकोमा उनले आपत्ति जनाए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal