आज :

काठमाडौँमा मोटरसाइकलसहित युवकलाई खोलाले बगायो

  • अनलाइन डबली

काठमाडौँ । बुधबार परेको पानीले काठमाडौंको लाजिम्पाटमा युवकसहित मोटरसाइकल बगाएको छ।

बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका-२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौंको धापासी घर हुने २१ वर्षीय सुरज अर्याललाई खोलाले बगाएको थियो। ‘अहिले परेको पानीले खोलाको बहाब बढ्यो। त्यसपछि बाइकसहित मानिसलाई बगाएको हो,’ उनले भने।

‍पानीले बगाएका अर्यालको तत्कालै उद्धार गरिएको थियो। तर उनले चलाएको बागमती प्रदेश -०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला पर्न सकेन।

प्रहरीले उनको मोटरसाइकल खोजी गरिरहेको छ। उता सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।

सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

गत वर्ष जेठ मसान्तमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन् ।

यता पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal