
काठमाडौँ । देशको संघीय राजधानी काठमाडौँमा बिहानैदेखि पानी परिरहेको छ ।
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश १ , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ठुलाे वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन चेतावनी दिएको छ ।
शुक्रबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।
सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
गत वर्ष जेठ मसान्तमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन् ।
यता पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।
पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।