आज :

विनोद मृत्यु प्रकरणः परिवारले काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्दै 

  • अनलाइन डबली

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको न्यायको लागि काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरिँदैछ । प्रहरीले किटानी जाहेरी नलिएको भन्दै आक्रोसित परिवार तथा आफन्तले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछन् ।

जेठ १७ गते राति दुई पक्षबीचको सामान्य विवाद लिएर प्रहरी मध्यरात गाउँमा पसेर महिला, वृद्धवृद्धा र बालबच्चालाई समेत कुटपिट गरेको थियो । सोही घटनाकै बेलाबाट हराएका विनोदको २१ गते मृत अवस्थामा लाश भेटिएको थियो । घरबाट करिब ५ सय मिटर टाढा पञ्चदेवल क्याम्पस नजिकै भीरमा खसालिएको अवस्थामा विनोदको लाश भेटिएको थियो ।

परिवारले लाश बुझ्न मानेका छैनन् । परिवार तथा आफन्तले विनायकमा विनाेदको ह.त्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । न्यायको लागि गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेकाे छ ।

प्रहरीले किटानी जाहेरी नलिएपछि परिवारले विरोधका कार्यक्रम थप गर्दै गएका छन् । दोषीलाई कानुन दायरामा ल्याउन दवाव दिने उद्देश्यले काठमाडौंमा ज्ञापनपत्रदेखि विरोध प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गर्ने परिवारको तयारी छ ।

आज दिउसो काठमाडौं अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारले संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको दिन नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको विवादले अग्र रुप लिँदा विनोदको घटना भएको हो । चुनाव सकिएपछि पनि काँग्रेस र एमाले कार्यकर्ताबीच इगो रहेको र त्यसमा प्रहरीले मलजल गरेको बताइएको छ । अछामका प्रहरी प्रमुखसहित मध्यराति गाउँमा परेर लछारपछार गरेका थिए ।

प्रहरीसँग गाउँमा पुगेका नेपाली काँग्रेसका कार्यकर्ताहरुले विनोदलाई धकेल्दै लगेको र त्यसपछि विनोद हराएको परिवारका सदस्यहरुले जनाएका छन् । काँग्रेस कार्यकर्ताहरुले विनोदलाई मारेर भीरमा खसाएको परिवारको आरोप छ । उनीहरुले घटनामा संलग्न भएको आशंकामा दिएको किटानी नलिएपछि घटना अछाम हुँदै काठमाडौंसम्म पुगेको छ ।

यसैबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित चार कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति निकालेर पीडितलाई न्यायको लागि माग गरेका छन् । मंगलबार नेकपा एमालेका नगर इन्चार्ज भीमबहादुर विष्ट, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज धर्मराज तिमिल्सैना, नेकपा एकीकृत समाजवादीका सहइन्चार्ज केशव शाही र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज सर्जन धामीले संयुक्त विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा नगर प्रमुखको निर्देशनमा अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाको नेतृत्वमा कालिकास्थानको रिठारुख टोलीमा मध्यराति प्रहरी प्रवेश गरी धरपकडकै बेला १५ बर्षीय विनोद शाही बेपत्ता भएको बताईएको छ । जेठ १७ गते राति हराएका विनोदका शव वडा नम्बर ३ को र कालिकास्थानको सीमाना नजिकै सडकबाट भीरबाट ५ मिटर तल खसालिएको अवस्थामा जेठ २१ गते भेटिएको विज्ञप्तिमा बताइएको छ ।

संयुक्त विज्ञप्तिमा प्रहरीले शवको मुचुल्का गरिसक्दा पनि पीडित परिवारको किटानी जोहरी प्रहरीले दर्ता नगरेको भन्दै आपत्ति जनाइएको छ । पीडित पक्षको किटारी जाहेरी दर्ता गरी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको प्रक्रिया अघि बढाउन चार पार्टीले माग गरेका छन् ।

त्यस्तै, घटनामा जोडिएका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनि र प्रहरी प्रमुख थपलियालाई निलम्बित गरी निष्पक्ष छानविनको माग समेत गरिएको छ । विज्ञप्तिमा पीडित पक्षबाट दिइएको किटानी जाहेरी दर्ता नगरी पीडितलाई न्याय दिने प्रक्रिया नबढाएको भन्दै थप संघर्षका कार्यक्रम बढाउने बताएका छन् । यसबाट उत्पन्न हुन परिणामको सम्पूर्ण जिम्मेवारी लिनुपनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal