आज :

नेपाललाई साम्राज्यवादी सुरक्षा छाताभित्र राख्न इम्बोस्ड नम्बरप्लेटः जनसांस्कृतिक महासंघ

  • अनलाइन डबली

काठमाडौँ । सरकारले साउन १ गतेदेखि अनिवार्य गर्ने भनिएको इम्बोस्ड नम्बरप्लेट व्यक्तगत गोपनियता र असुरक्षित भएको भन्दै अखिल नेपाल जनसांस्कृतिक महासंघले खारेजीको माग गरेको छ । महासंघको संयोजक खेम थपलियाले एक विज्ञप्ति जारी गरेर इम्बोस्ड नम्बरप्लेटको प्रतिलिपि नेपाल सरकारसँग नहुने भएकोले सार्वभौकितामाथि दीर्घकालिन गम्भीर असर पर्ने बताएका छन् ।

महासंघले इम्बोस्ट नम्बरप्लेट नेपालको संविधान प्रतिकुल भएको समेत बताउँदै यसले हजारौं आर्टिस्ट मजदूरहरुको रोजीरोटी गम्ने बताएको छ । विज्ञप्तिमा महासंघले नेपाललाई साम्राज्यवादी सुरक्षा छाताभित्र राख्ने उद्देश्यले इम्बोस्ड नम्बरप्लेटको अवधारणा ल्याइएको भन्दै घोर भत्सर्ना गरेको छ । यसले नेपाली भाषालिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने महासंघको ठहर छ ।

विज्ञप्तिको पूर्णपाठः

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गरी आगामी साउन १ गतेभित्र सवारीधनीले आ–आफ्नो सवारीसाधनमा ‘इम्बोस्ड नम्बरप्लेट’ जडान नगरे कडा कारबाही गर्ने भनी दिएको धम्कीप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । ‘इम्बोस्ड नम्बरप्लेट’ नेपाली भाषालिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने आत्मघाती र राष्ट्रघाती दुराशयुक्त छ । हाम्रो सङ्गठनले नेपालमा ‘इम्बोस्ड नम्बरप्लेट’ प्रक्रियाको सुरुआती चरणदेखि नै देशको सार्वभौमिकतामाथि गम्भीर आँच पु¥याउँदै सिङ्गो राष्ट्र र नागरिकको गोपनीयताको हकसमेत समाप्त पार्ने विषाक्त उद्देश्य र साम्राज्यवादी योजनामा ल्याइएको ‘इम्बोस्ड नम्बर’प्रति गम्भीर आपत्ति जनाउँदै र तत्काल खारेजीको माग गर्दै आएको व्यहोरा सर्वविदितै छ । नेपालमा सञ्चालन हुने कुनै पनि सवारी साधनमा ‘इम्बोस्ड नम्बरप्लेट’ को प्रयोग हामीलाई सर्वथा अमान्य छ । साम्राज्यवादी योजनामा नेपाललाई उसकै सुरक्षा छाताभित्र राख्ने उद्देश्यका साथ ल्याइएको यसप्रकारको राष्ट्रविरोधी कार्यको जति भत्र्सना र निन्दा गरे पनि कम हुन्छ ।

ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने नम्बरप्लेटमा नेपाली भाषाको वर्णाक्षर र अङ्क पर्याप्त हुँदाहुँदै पनि आत्मघाती ‘इम्बोस्ड नम्बरप्लेट’ प्रयोग गरिनु जनताको नैसर्गिक भाषिक र गोपनीयताको हकको गम्भीर हनन् हुनु हो । तथाकथित सरल र प्रविधिमैत्रीको आबरणमा देश र जनताको अस्तित्व समाप्त पार्ने यसप्रकारको साम्राज्यवादी नीति हामीलाई अस्वीकार्य छ । आधुनिक प्रविधिबाट विश्वका अन्य देशले चौतर्फी प्रभाव विस्तार गर्ने तर त्यही प्रविधिको आवरणमा नेपालीहरूलाई खुम्च्याउने यो भयानक षड्यन्त्र हो । नेपालको दलाल संसदीय सत्ताले नेपाल र नेपाली जनताको सार्वभौम अस्तित्वमाथि दिनदहाडै धावा बोल्दै अघि सारेको आत्मघाती, जनघाती तथा राष्ट्रघाती ‘इम्बोस्ड नम्बरप्लेट’ को विरुद्ध हाम्रो सङ्गठन सबै प्रकारको सङ्घर्षको विधि अपनाउन तयार छ । ‘इम्बोस्ड नम्बरप्लेट’ को प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालय र यातायात विभागलाई समेत हुँदैन ।

यसबाट नेपालको सार्वभौमिकतामाथि दीर्घकालीन गम्भीर असर मात्र पुग्दैन कि यो हजारौँ आर्टिस्ट मजदुरहरूको रोजीरोटी खोस्दै साम्राज्यवादी स्वार्थ पूरा गर्ने गैरन्यायिक, बेइमानीपूर्ण, जनतामारा तथा राष्ट्रमारा छ । यसले जनताको भाषिक अधिकार र गोपनीयताको हकको खिल्ली उडाउँदै देशको राजस्वसमेत विदेशी कम्पनीलाई बुझाउन बाध्य पार्दैछ । आत्मघाती ‘इम्बोस्ड नम्बरप्लेट’ नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८ र धारा ३२(३) समेतको प्रतिकूल हुँदा नेपालमा यो कुनै पनि हालतमा मान्य हुन सक्तैन । हामी नेपालमा कुनै पनि हालतमा ‘इम्बोस्ड नम्बरप्लेट’ लाई लागू हुन दिँदैनौँ । ‘इम्बोस्ड नम्बरप्लेट’ को प्रयोग गर्न कथित सरकारी उर्दीको शतप्रतिशत सशक्त अवज्ञा गर्न हाम्रो सङ्गठन सम्बन्धित सबै सवारीधनीहरूलाई विनम्र अनुरोध गर्दछ ।

‘नेपाली नम्बरप्लेट’ हटाउँदै र ‘इम्बोस्ड नम्बरप्लेट’ ‘ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अङ्ग्रेजी अल्फावेट प्रयोग गर्ने निर्णय गरेको’ भनिए पनि यो सरासर राष्ट्रघाती छ । भनिँदैछ, नेपाल सार्क र बीबीआईएन (भुटान, बङ्गलादेश, इन्डिया र नेपाल) को सदस्यसमेत भएकोले नेपालमा दर्ता भएका सवारीसाधन भारत, बङ्गलादेश, भुटान, चीन मात्रै नभई युरोपसम्म जान सक्नेछन् । इम्बोस्ड नम्बरप्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआईडी ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल’ प्रविधिले गाडी रहेको स्थान, गाडीको अवस्थालगायतको जानकारी दिने भएकाले यसले गोपनीयताको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ । ‘इम्बोस्ड नम्बरप्लेट’ ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ ।

नेपालको राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले प्रयोग गर्ने नम्बरप्लेटमा ‘इम्बोस्ड नम्बरप्लेट’ प्रयोग हुनाले राष्ट्रिय सुरक्षाको हिसाबले पनि यो मामिला अत्यन्त संवेदनशील र गम्भीर छ । अमेरिकाले बिन लादेनदेखि इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यासम्म ट्राफिक चेकिङको यही विधि प्रयोग गरेको थियो । ‘इम्बोस्ड नम्बरप्लेट’ मार्फत भेइकल क्राइम घटाउने भनिए पनि यसले झन् भेइकल क्राइम बढाउने निश्चित छ । हाम्रो सङ्गठन विगत ४० वर्षदेखि राष्ट्रियता र जनपक्षीय कला–साहित्यको पक्षमा कठोर सङ्घर्ष गर्दै आएको छ । नेपालको राष्ट्रियता, भाषा, कलाको रक्षा, विकास र विस्तारमा हाम्रो सङ्गठन निरन्तर क्रियाशील छ । यसर्थ, ‘इम्बोस्ड नम्बरप्लेट’ जस्तो मजदुरघाती, भाषाघाती एवम् राष्ट्रघाती कदमका विरुद्ध सशक्त आन्दोलनमा उत्रिन आम जनसमुदायमा हाम्रो सङ्गठन हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal