
अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरापलिका वडा नम्बर ४ मा भएको घटनाबारे नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित चार कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति निकालेर पीडितलाई न्यायको लागि माग गरेका छन् ।
मंगलबार नेकपा एमालेका नगर इन्चार्ज भीमबहादुर विष्ट, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज धर्मराज तिमिल्सैना, नेकपा एकीकृत समाजवादीका सहइन्चार्ज केशव शाही र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज सर्जन धामीले संयुक्त विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा नगर प्रमुखको निर्देशनमा अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाको नेतृत्वमा कालिकास्थानको रिठारुख टोलीमा मध्यराति प्रहरी प्रवेश गरी धरपकडकै बेला १५ बर्षीय विनोद शाही बेपत्ता भएको बताईएको छ । जेठ १७ गते राति हराएका विनोदका शव वडा नम्बर ३ को र कालिकास्थानको सीमाना नजिकै सडकबाट भीरबाट ५ मिटर तल खसालिएको अवस्थामा जेठ २१ गते भेटिएको विज्ञप्तिमा बताइएको छ ।
संयुक्त विज्ञप्तिमा प्रहरीले शवको मुचुल्का गरिसक्दा पनि पीडित परिवारको किटानी जोहरी प्रहरीले दर्ता नगरेको भन्दै आपत्ति जनाइएको छ । पीडित पक्षको किटारी जाहेरी दर्ता गरी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको प्रक्रिया अघि बढाउन चार पार्टीले माग गरेका छन् ।
त्यस्तै, घटनामा जोडिएका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनि र प्रहरी प्रमुख थपलियालाई निलम्बित गरी निष्पक्ष छानविनको माग समेत गरिएको छ । विज्ञप्तिमा पीडित पक्षबाट दिइएको किटानी जाहेरी दर्ता नगरी पीडितलाई न्याय दिने प्रक्रिया नबढाएको भन्दै थप संघर्षका कार्यक्रम बढाउने बताएका छन् । यसबाट उत्पन्न हुन परिणामको सम्पूर्ण जिम्मेवारी लिनुपनुपर्ने बताएका छन् ।