काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई लामो दूरीसम्म मार हन्ने अस्त्र पठाए आफूहरुले हमलाको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । रुसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले मेरिकाले अहिले आपूर्ती गरिरहेको अस्त्र नयाँ नभएको बताए ।
पुटिनले पश्चिमा देशहरुले युक्रेन द्वन्द्वलाई लम्ब्याउन अस्त्र आपूर्ती गरिरहेको बताए । “सामान्यतः मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ– सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनु” पुटिनले भने ।
राष्ट्रपति यसअघि रुसको सीमासम्म प्रहार भए जसले सहयोग गरेको अस्त्र हो उसको राम्रो नहुने चेतावनी दिएका थिए । यसका बाबजुद अमेरिकाले हालै मात्र एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो । यो प्रणालीले ७० किलोमिटरसम्म सटीक ढंगले निशाना लगाउन सकिने बताइएको छ ।
अहिले लडाइँ जारी रहेका क्षेत्रबाट रुससम्म पुग्ने भएकोले सुरुमा दिन तयार भएको थिएन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको सीमापार नगर्ने प्रतिवद्धता जनाएपछि मात्रै यो अस्त्र आइपुग्न लागेको बताइएको छ ।
बीबीसीका अनुसार ह्वाइट हाउसका अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ती प्रणालीहरू रुसी सीमाभित्र प्रहार गर्न प्रयोग गरिँदैन भनेर आश्वस्त पारेपछि मात्र त्यस्तो अस्त्र युक्रेन आइपुग्न लागेको हो । अमेरिकाले सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन् ।
यसैबीच रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ । तर, युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ। उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन् ।
रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका निम्ति युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस–टी पठाउने प्रतिबद्धता जनाएको छ । तर, पुटिनले लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमविरुद्ध चेतावनी दिँदै भने, “यदि ती आपूर्ति गरिएमा हामी उपयुक्त निष्कर्ष निकाल्नेछौँ र ती लक्ष्यहरूमा हाम्रा अस्त्रहरू प्रहार गर्नेछौँ जहाँ हामीले अहिलेसम्म प्रहार गरेका छैनौँ ।” केही हप्ता शान्त रहेको राजधानी किभमा पनि रुसी सेनाले हमला सुरु गरेको छ ।