
अछाम । नेकपा एमालेका जिल्ला नेताका छोरा मृत भेटिएपछि तनाव उत्पन्न भएको छ । यही जेठ १७ गते रातिबाट हराएका १६ बर्षीय विनोद शाही शनिबार विहान मृत भेटिएका हुन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा जेठ १७ गते राति प्रहरी गाउँमा पसेपछि भएको घटनासँगै विनोद बेपत्ता भएका थिए ।
बैशाख ३० गते स्थानीय तह निर्वाचन अन्तरगत कालिकास्थानमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको घटनालाई लिएर पुनः विवाद उत्पन्न भएको हो । मतदानको विषयलाई लिएर भएको विवाद साम्य भइसकेको थियो ।
नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जितेपछि उक्त घटनालाई प्रतिशोधको रुपमा लिएको नेकपा एमालेको आरोप छ । सामान्य विषयलाई लिएर जनप्रतिनिधिकै निर्देशनमा जेठ १७ गते राति मंगलसेन र कमलबजारबाट समेत प्रहरी बोलाएर गाउँमा कुटपिट गरेको बताइएको छ । प्रहरीले वृद्धा, गर्भवती, सुत्केरीलाई मध्यराति लछारपछार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।
उक्त राति नै बेपत्ता भएका विनोद शाहीको शनिबार विहान पञ्चदेवल क्याम्पस नजिकै शव भेटिएको थियो । उक्त स्थान विनोदको घरबाट २ सय घर टाढा पर्छ ।
दोषीलाई कारवाहीको लागि माग गर्दै विरोध प्रदर्शन गर्दा इलाका प्रहरी कार्यालय विनायकले हवाई फायर गरेको थियो । मृतकका आफन्त र स्थानीयमाथि प्रहरीले ९ राउण्ड हवाई फायर गर्नुको साथै अश्रुग्या प्रहार गरेको थियो ।
दोषीलाई कारवाहीको माग गर्दै परिवार र स्थानीयले अहिले पनि विरोध जारी राखेका छन् । विनोद नेकपा एमालेका जिल्ला नेता बलबहादुर शाहीका छोरा हुन् । १६ बर्षीय विनोद कक्षा १० मा अध्ययनरत थिए । प्रदर्शनकारीहरूले उक्त घटनामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूकै संलग्नता रहेकाे अाराेप लगाएका छन् ।