
विनायक । पञ्चदेवल विनायक नगरपालिकामा प्रहरीले गोली चलाएको छ । यही जेठ १७ गतेबाट हराइरहेका विनोद शाही मृत अवस्थामा भेटिएपछि तनाव सुरु भएको थियो । जेठ १७ गते राति नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानमा १७ गते राति प्रहरी गाउँमा पसेर स्थानीयमाथि कुटपिट गरेको थियो । त्योसँगै शाही बेप’त्ता भएका थिए । परिवारले खोजी सुरु गरेका थिए ।
शाहीको शव घरभन्दा झण्डै २ सय मिटर टाढा पञ्चदेवल क्याम्पस नजिकै भेटिएकाे थियाे । दोषीलाई कारवाहीको माग गर्दै आफन्त तथा स्थानीयले गरेको विरोधमा प्रहरीले गोली चलाएको हो । आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा गएका थिए । बैशाख ३० गते मतदानको विषयालई लिएर नेपाली काँग्रेस र नेकपा एमालेबीच विवाद सुरु भएको थियो । काँग्रेस कार्यकर्ताहरुले प्रहरीसँगै मध्यरात गाउँमा पसेर कुटपिट गरेको स्थानीले बताएका छन् ।
चुनावको विषयलाई लिएर विवाद बढ्दै गएपछि नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै सदरमुकाम र कमलबजारबाट थप प्रहरी बोलाएर राति गाउँमा पसेर गर्भवती, सुत्केरी, बुढाबुढीलाई कुटपिट गरेको थियो ।
मतदानको दिनमा भएको विवादलाई नेपाली काँग्रेसले प्रतिसोधको रुपमा लिएका कारण घटना भएको एमाले नेताहरुको आरोप छ । जनप्रतिनिधिहरूले नै पुरानाे घटनालाई प्रतिशोधका रुपमा लिएका कारण विवाद पुनः दोहोरिएको आरोप छ ।
एमाले नेताहरुका अनुसार मतदानको दिनमा नेपाली काँग्रेसका कार्यकर्ताले फर्जी मतदान गर्न खोजेपछि एमाले एजेण्टले रोक्दा विवाद सुरु भएको थियो । उक्त विवादसँगै केही घण्टा मतदान समेत स्थगित भएको थियो ।
दोषीलाई कारवाहीको माग गर्दै अहिले पनि परिवार र स्थानीले विरोध गरिरहेका छन् । प्रहरीले उनीहरुमाथि ९ राउण्ड गोली प्रहार गर्नुको साथै गर्नुको साथै अश्रुग्यास समेत हानेको छ । विनोद नेकपा एमालेका पूर्वजिल्ला सदस्य बलबहादुर शाहीका छोरा हुन् । १६ वर्षीय विनोद कक्षा १० मा पढ्दै थिए ।
विनायक नगरपालिकामा यसअघि पनि वडाअध्यक्षको हत्या गरिएको थियो । नेपाली काँग्रेसबाट वडा नम्बर २ बाट निर्वाचति वडाअध्यक्ष पदम बहादुर धामीको हत्या भएको थियो ।