आज :

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो, को हुन् उनीहरु ?

  • अनलाइन डबली

काठमाडौँ । मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको सव काठमाडौं ल्याइएको छ ।

२२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौं ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । दश जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ ।

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

शवहरूलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने जनाइएको छ । शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । क-कसको शव ल्याइएको हो भन्ने बारेमा केहि खुलाइएको छैन ।

एकै परिवारका सात जनाको मृत्युपछि गाउँ नै शोकमा

मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो ।

पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए ।

वृद्ध बुबाआमाका साथै परिवारका अन्य ज्येष्ठ सदस्यलाई मुक्तिनाथको दर्शन गराउन लैजाँदै गरेको खुसी राजनमा देखिन्थ्यो । विमान चढ्नुअघि उनले घरमा दिदीहरू शान्ति र कान्तिलाई फोन गरेर अब विमान जोमसोमका लागि उड्यो भनेर जानकारीसमेत गराएका थिए ।

स्थानीय तह निर्वाचनको मतगणना चलिरहँदासम्म राजन गाउँमै थिए । त्यतिबेलासम्म उनले मुक्तिनाथ दर्शनका लागि जाने योजना बनाइसकेका थिएनन् । बरु उनी काठमाडौं जाने योजनामा थिए ।

काठमाडौंको गोकर्णेश्वरमा लामो समयदेखि बस्दै आएका उनी निर्वाचनका लागि गाउँ गएका थिए । मतगणना सकिएपछि उनी बाबुआमासहित काठमाडौं फर्किएका थिए । श्रीमती दीपा सुवेदी, १४ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर राजन आफ्ना बुबा–आमा, काका–काकी र मामा–माइजुलाई लिएर मुक्तिनाथ दर्शनका लागि हिँडे ।

दीपा भने केही दिनअघिमात्र पोखराबाट फर्किएको र बच्चाहरू स्कुल जानुपर्ने भएकाले मुक्तिनाथ दर्शनका लागि गइनन् । राजनका भाइ–बुहारी भने अस्ट्रेलियामा रहेको कान्ति तामाङले बताइन् । राजन नेकपा एकीकृत समाजवादी धनुषाका जिल्ला सदस्य एवं मधेस प्रदेशका मन्त्री शत्रुधन महतोको सचिवालय सदस्यसमेत थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal