 
	
काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।
उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। ‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘अहिले मोबाइल लागिरहेको छैन। थप विवरण केहीबेरमा आउँछ।’
यता मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए ।
आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो ।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको हो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् ।
हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली



