आज :

यी हुन् बेपत्ता जहाजका सहचालक रुकुम घर भएका उत्सव पोखरेल, के भन्छन् परिवारका सदस्य ?

  • अनलाइन डबली

काठमाडौं । मुस्ताङको लोते आसपास दुर्घटना भएको आश‌ंका गरिएको तारा एयरको (९ एन एइटी कल साइन) को ट्विनअटर जहाजका सहचालक उत्सव पोखरेल गिए । पश्चिम रुकुम घर भएका पोखरेलले पोखराबाट जहाज उड्ने बेला परिवारका सदस्यसँग सम्पर्क गरेका थिए । पारिवारिक स्रोतका अनुसार आफू मुस्ताङ जान लागेको जानकारी गराएका थिए ।

जहाज हराएको संचारमाध्यममा समाचार आएपछि परिवारले सम्पर्क गर्न खोजेका थिए, अहिलेसम्म पनि उनको फोनमा सम्पर्क हुन सकेको छैन । सामाजिक संजालमा उत्सवलाई श्रद्धाञ्जली लेखिएको छ तर घर परिवारले मृत्युको जानकारी विनै श्रद्धाञ्जली लेखिएको भन्दै गुनासो गरेका छन् ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज दुर्घटना ग्रस्त भएको छ । तर आधिकारिक रुपमा पुष्टी भने हुन सकेको छैन । खोजीकार्यको लागि भएको हेलिकोप्टर फिर्ता भएको छ । खराब मौसमका कारण दुर्घटनाको कुनै सूचना पाउन नसकेपछि हेलिकोप्टर फिर्ता भएको हो । नेपाली सेनाको हेलिकोप्टर भने लोते पहाड क्षेत्रमा घुमिरहेको छ ।

पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो । उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । उडेकाे २० मिनेटपछि जाेमसाेम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खाेजी गरिएकाे थियाे ।

उक्त जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ ।

त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको र विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको छ ।

सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ ।

काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal