आज :

१५ औं गणतन्त्र दिवसः कसले के शुभकामना दिए ?

  • अनलाइन डबली

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । यसै अबसरमा आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । सरकारले सैनिक मंच टुडिखेलमा गणतन्त्र दिवसको अबसरमा विशेष समारोहको आयोजना गरेको छ । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष सम्बोधन गरेका छन् ।

यसैबीच राष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले गणतन्त्र दिवसको अबसरमा शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रतपिको शुभकामना सन्देशमा जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा शुभकामना दिँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ ।

उपराष्ट्रपति पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । देउवाले त्यसको लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरे।

सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने सापकोटाको जोड दिए ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताए । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको बताए ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गरे । नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको भन्दै अध्यक्ष प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तनको अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

प्रचण्डको शुभकामनामा संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख छ । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताए ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित विभिन्न राजनीतिक पार्टीका प्रमुखले गणतन्त्रको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal