आज :

कारागारमा मृत भेटिएका सुन्दरको शव दस दिनदेखि अस्पतालमै, यस्तो छ परिवारको सर्त

  • अनलाइन डबली

बाँके । नेपालगन्ज उपमहानगरपालिका-२ दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै छ। सुन्दरको शव नेपालगन्जस्थित मेडिकल कलेजमा राखिएको छ।

रोल्पा कारागारमा बन्दी जीवन बिताइरहेका उनको शव जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा परेको थियो।

तर कारागारको रेकर्डमा नेपालगञ्जका सुन्दर हरिजन सुर्खेत जिल्लाको बराहताल गाउँपालिका-१ का २७ वर्षीय विजयविक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेको खुलेको थियो। जसले कारागार प्रशासन भित्रको लापरबाही छताछुल्ल भएको छ।

यो घटनापछि कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गर्‍यो।

गत आइतबारदेखि काम थालेको उक्त समितिमा जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक-एक जना सदस्य छन्।

समितिलाई घटनाबारे अध्ययन गरी दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। समितिले नेपालगन्ज र रोल्पा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन गरेको छ। छानबिनपछि बिहीबार चापागाईं काठमाडौं फर्किएको बाँकेस्थित नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले बताए।

मृतकका दाजु राजकुमारले विजयविक्रम शाह, बाँके र रोल्पा जिल्ला कारागारका तत्कालीन जेलरसहित अन्य केही शंका लागेका व्यक्ति तथा कर्मचारीविरूद्ध उजुरी दिएको बताए।

‘त्यो उजुरी दर्ता भएपछि मात्रै हामी भाइको शव बुझ्नेछौं,’ उनले भने, ‘हामीले दिएको उजुरी दर्ता नहुँदासम्म दोषीलाई कारबाही हुन्छ भन्ने आधार नै गुम्छ।’

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमार्फत् जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी पठाएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए।

प्रहरी कार्यालय बाँकेबाट इमेलमार्फत् पीडितको उजुरी पठाए पनि हुलाकमार्फत् पनि उजुरी पठाइएको छ। त्यसरी पठाएको उजुरी केही दिन भित्रै पुग्ने र दर्ताको लागि घर परिवारको कुनै सदस्य सनाखतका लागि रोल्पा जानुपर्ने छ। त्यसपछि मात्रै जाहेरी दर्ता हुने तथा शव बुझ्ने प्रक्रिया सुरू हुनेछ। दाजु राजकुमारले आफ्नो भाइ सुन्दरको हत्या भएको दाबी गर्दै आएका छन्।

सुन्दर हरिजनलाई चोरी मुद्दामा १६ वर्षकै उमेरमा काराबास सजायको फैसला गर्ने जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीशले पनि कानुनको बर्खिलाप हुने गरी निर्णय गरेको भन्दै आलोचना हुन थालेको छ। अधिकारकर्मीहरूले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन्।

सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो। त्यस्तै सुन्दर हरिजन (चमार) लाई दुइटा मुद्दा थिए। एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो।

जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो। त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो। त्यही फैसलाकै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउपछि कारागार चलान भएका थिए।

सुन्दरले जरिवाना तिरेका थिएनन्। जसले गर्दा उनी २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो। २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो।

जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए। उनले जरिवाना बुझाउन सकेनन्। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे। सुन्दर र शाहको स्थानान्तरण २०७७ मंसिर ८ गते नै रोल्पा कारागारमा भइसकेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal