
काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । रेणु सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा रेणुको टाउकोमा सामान्य चोट लागेको प्रहरी स्रोतले बतायो ।
अहिले टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो । टाउकोमा तीन टाँका लगाइए पनि रेणुको अवस्थामा खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।
भरतपुर महानगरपालिकाको मेयरको पदभार ग्रहणपछि रेणु काठमाडौँ आएकी थिइन् । उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएको बताइएको छ ।