काठमाडौँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर वालेन्द्र साहलाई शुभकामना दिँदै काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् ।
चुनावीको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् ।
‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु,’ स्थापितले भनेका छन्,’काठमाडौंको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु ।’
वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् । एमालेका स्थापित तेस्रो रहे ।
‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’ मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ स्थापितले भनेका छन् ।
आफू पटकपटक धुलो टक्टक्याएर उठेको व्यक्ति भएको भन्दै स्थापितले भने, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु । काठमाडौं म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ । ‘
यस्तो छ स्टाटस !
‘मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ महानगरपालिका’ मा नेकपा (एमाले)को तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईँहरु सबैलाई विदितै छ । सबै भन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले) प्रति आभार व्यक्त गर्न चाहन्छु।
म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।
जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन् । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन।
निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।
पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु ।
लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्नुभएका अध्यक्ष र विभिन्न वडाबाट विजयी हुनु भएका सदस्यहरु सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गर्दछु । त्यसैगरी अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु।
अन्त्यमा, मलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरवासी, मेरो उम्मेदवारी दर्तासँगै मेरो चुनावी अभियानमा खटिनु भएका पार्टीको विभिन्न तह–तप्कामा रहनु भएका कमरेडहरु, सुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरुकै साथमा रहने प्रण व्यक्त गर्दछु ।’


अनलाइन डबली


