
काठमाडौँ । निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ। बुढीगंगामा चुनाव स्वच्छ, स्वतन्त्र तथा निस्पक्ष नभएको निर्णय गर्दै आयोगले बिहीबार त्यहाँ पुनः मतदान गर्ने निर्णय गरेको हो। योसँगै बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्द भएको छ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई तीन दिनभित्र हटाएर अन्य कर्मचारीलाई जिम्मेवारीमा खटाउन पनि निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडपाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई हटाउन आयोगले निर्देशन दिएको हो।
मतदान कार्यमा सिडिओ पौडपाल, प्रहरी नायब उपरीक्षक ओझा तथा सशस्त्र प्रहरी उपरीक्षक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेको र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निस्पक्षतामा आँच आउने काम गरेको ठहर आयोगको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजहरूलाई तीन दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ। त्यस्तै निजहरूलाई सेवा शर्त सम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन र उक्त नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरिएको छ।’
आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम उक्त नगरपालिकको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको छ।