काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय चुनावमा सोचेअनुसार आफ्नो पक्षमा नतिजा नआएको निष्कर्ष सुनाएका छन् ।
बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए ।
‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन जितिँदैन ? यो भनेको अन्तर्घात होइन ?’
त्यस्तै अध्यक्ष ओलीले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रीत नभई निरन्तरता मात्रै भएको भन्दै त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
साथै अध्यक्ष ओलीले सरकारको उक्त नीति तथा कार्यक्रमले मुलुकलाई थप भड्खालोमा पार्नसक्ने समेत बताएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे संक्षिप्त विश्लेषण गरिएको जानकारी दिए । त्यसक्रममा अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएको भट्टराईले जानकारी दिए ।
बिहीबारबाट हुने नीति तथा कार्यक्रममाथिको छलफलमा पार्टीका सांसदहरुलाई सांसदहरुलाई तर्कसंगत ढंगले आफ्ना कुरा राख्न र नीति तथा कार्यक्रमको चिरफार गर्न अध्यक्षले निर्देशन दिएको भट्टराईले बैठकपछि जानकारी दिए ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्।
पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्याएर उठेका जनप्रतिनिधि हार्नुको कारण खोज्नु पर्ने बताएका छन्।
‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोहोर्याएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो। उल्टै हारियो। बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ प्रचण्डको भनाई उदृत गर्दै नेता गिरिराजमणि पोखरेलले भने,‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौ। त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’
स्थानीय तहमा उठ्ने जनप्रतिनिधि छनोटमा ध्यान नपुर्याउँदा धेरै स्थानीय तहमा हारेको प्रचण्डले बताए। यस्तै मधेस प्रदेशमा चुनाव हारेको विषयमा समेत प्रचण्डले चर्चा गरेको नेता पोखरेलले बताए।
‘मधेसमा माओवादीको राम्रै छ भन्ने भयो। त्यति ध्यान दिइएन । हाम्रो पनि अलिअलि प्राविधिक समस्या थियो,’ प्रचण्डले भने,‘नतिजा आउँदा माओवादी धेरै तल पुग्यो। अब मधेसमा माओवादीलाई रिभाइभ गर्न लाग्नु पर्ने देखियो।’ आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गर्ने पोखरेलले बताए।