
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) कलाकार पनि हुन् । चुनावअघि उनी फिल्म प्रचारमा पनि सहभागी रहे ।
सोमबार उनै बालेन राष्ट्रिय सभागृहको मतगणना स्थलबाट समय निकालेर फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगे । जहाँ उनले फिल्मलाई शुभकामना समेत दिए ।
नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए । फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको उनले प्रशंसा गरे ।
‘हामी पहिल्यैदेखि नै अर्पण दाइका फिल्म हेरेर यहाँसम्म आइपुगेका हौं । उहाँका सबै फिल्म राम्रो लाग्छ । स्वस्तिमाको अभिनयको पनि म प्रशंसक हुँ,’ बालेनले त्यस अवसरमा भने ।
ठूलो मतान्तरले निकटतम प्रतिस्पर्धीलाई चुनावी मतगणनामा पछि पारेका बालेनसामु कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले केही माग प्रस्तुत गरे ।
यदि बालेन मेयर निर्वाचित भएमा दाहालले नेपाली फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरे । बालेनले पनि कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्नेघोषणा गरे ।
‘हाम्रो घोषणापत्रमै फिल्मसहित कला संस्कृतिलाई सम्वर्द्धन गर्नुपर्छ भन्ने उल्लेख छ । हामीले जितेमा त्यो प्रक्रिया अघि बढ्छ,’ बालेनले भने, ‘बोर्डको मागप्रति हामी गम्भीर पनि छौं ।’
असार ३ गते रिलिज हुने फिल्म ‘चिसो मान्छे’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । निर्मात्री शर्मिला पाण्डे चुनावअघिदेखि नै बालेनको पक्षमा खुलेर निर्वाचन अभियान चलाइरहेकी थिइन् । निर्देशक खनालले पनि बालेनको पक्षमा भोट मागेका थिए । सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।
उता नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ ।
आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।
अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।
भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।
यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।
भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।
रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।