
दाङ । दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १ नम्बर र १४ नम्बर वडाबाट मतगणना सुरु भएको छ।
घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्।
एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ।
यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९,५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।
काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन्।
यता काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।
मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ । महानगरको १ र ३२ वडाबाट मतगणना सुरु गर्ने आयोगले बताएको छ ।
त्यस्तै सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो। सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताए ।