रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।
वडा नं. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीले जानकारी दिए । उता बैतडीमा मतदान गर्न गएका २ जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ । पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।
स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन ।
महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो । यता दैलेखको आठबीस नगरपालिकाको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
झड्पमा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।
घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा र कमल थापा रहेको प्रहरीले जनाएको छ । ‘आठबीसमा झडप भएको खबर प्राप्त भएको छ । फोन सम्पर्क हुँन सकिरहेको छैन् । सम्पर्कको प्रयास भइरहेको छ,’ उनले भने ।
कांग्रेस कार्यकर्ताहरूको एमालेका कार्यकर्ताहरुलाई आक्रमण गरेको स्थानीयले जगत माँझीले बताए । केहीबेर स्थिति तनाव बनेपछि तत्काललाई मतदान स्थगन गरिएको छ । केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको छ ।