आज :

नेपालीलाई कतिञ्जेल भेडाबाख्राझै बेचिरहने सरकार ?

  • अनुसा थापा

अहिले मुलुक नै चुनावमय भएको छ । गाँउठाँउ सबैतिरको वातावरण चुनावले तताएको छ । तर, मुलुकमा यस्ता धेरै नागरिक छन् जसलाई चुनावले केही फरक परेको छैन् । उनीहरु चुनावकै बेला भएपनि पेट पाल्नको लागि खाडी पस्दै छ । श्रम विभागका अनुसार दैनिक ५३ हजारभन्दा बढीले विदेश जानको निम्ति श्रम स्वीकृति लिएका छन् । देशमा निर्वाचन हुदैछ तर नेपालीलाई आफ्नै पेट पाल्नको चिन्ता छ । एक करोडभन्दा बढी नेपालीहरु बाहिरी मुलुकमा छन् । तिनीहरुले भोट हाल्न पाउदैनन् ।

उनीहरुको भोट हाल्न पाउने अधिकार खोसिएको छ । नेपालीहरु बाहिर गएर दुःखजेलो गरेको पैसाले हाम्रो देशका नेताहरुले मोजमस्ती गरेका छन् । उनीहरुले रेमिटेन्स नतिर्ने हो भने सरकारी कर्मचारीले तलबभत्ता पनि पाउदैनन्, नेताहरुले गरेको मोजमस्तीको पनि अन्त्य हुन्छ । बाहिर गएर रगतपसिना नबगाउने हो भने नेपालको अर्थतन्त्र डामाडोल हुन्छ । तर, विदेशमा गएकाले के पाएका छन् ? नागरिकता बनाउनेबित्तिकै रोजगारीको खोजीको बाहिर जानुपर्ने बाध्यता छ ।

हाम्रो देशका राजनीतिक दलले सिकेको कुराः आफ्नो देशका जनतालाई भेडाबाख्राजस्तै अरुको देशलाई बेच्ने । अनि उनीहरुले तिरेको राजश्व झयाम्म पार्ने । ठेक्कापट्टा लाउने कमिशन खाने । गरिबी, बेरोजगारी र जातभातको नाममा राजनीतिक दलहरुले मत लिए, सत्तामा पुगे । तर, त्यो जनतालाई फर्केर हेर्ने काम भएन् । गरिबी, बेरोजगारी र जातभात हुनु नेताहरुका लागि फाइदाको कुरा बन्यो । आज पनि गरिबी जस्ताको त्यस्तै छ ।

बेरोजगारी ज्युको त्यु छ । जातभातको नाममा कुटिनुपर्ने र मर्नुपर्ने स्थितिको अन्त्य भएको छैन् । अनि कहाँ आयो परिवर्तन ? जनताले त परिवर्तन देख्न पाएका छैनन् । बरु, नेताहरुको सम्पत्तिमा परिवर्तन भयो । भ्रष्ट्राचार गरेर उनीहरु झन्झन् धनी बन्दै गए । हिजो एकजोर चप्पल किनेर ल्याउने हैसियत नभएकाहरु आज करोडौंको सम्पत्तिको मालिक हुन् । कहिले नेपाली कांग्रेस, कहिले एमाले र माओवादीलाई मत दिएर ठूलो पार्टी बनाए । तर, कुनै पार्टीले एउटा सिन्कोसमेत भाचेनन् ।

शीर्ष नेता भनिएका पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवाबाट जनताहरु आजित भइसकेका छन् । आफु पनि काम गर्दैनन्, अन्यका लागि पनि बाटो खुल्ला गर्दैनन् । पार्टीकै अध्यक्ष यी चोर नेताहरु भएपछि देशको रुप फेरिएला ? गरिबी र बेरोजगारी यिनीहरुले हटाउलान् भनेर नसोच्दा पनि हुन्छ । नेपालमै बसेर केही गर्छु । यही स्वरोजगार बन्छु भनेर नसोच्दा पनि हुन्छ । व्यापार व्यवसाय गर्छुभन्दा पनि नसक्ने स्थिति बनेको छ ।

गाँउदेखि सहरसम्म एउटै टे्रन्ड चलेको छः नागरिकता बनाउनेबित्तिकै विदेश जाने । नेपालमा जागिर पाइदैन् भन्ने छाप सबैमा परिसकेको छ । रोजगारीको अभावमा पढेलेखेका समेत बाहिर गइरहेका छन् । हुनेखाने राम्रो मुलुक पसिहाल्छन्, हुँदाखाने खाडी । अमेरिका, अस्टे्रलियालगायत अन्य युरोपेली मुलुक छिरेकाहरु नेपाल फकिदैनन् । पछिल्लो समय वैदेशिक रोजगारीले विकृति ल्याएको पाइन्छ । श्रीमान् काम गर्न भनेर खाडी मुलुक जाने श्रीमती परपुरुषसंग लागिदिने । खाडी मुलुकमा गएर कमाएको पैसा सबै श्रीमतीले लिएर अर्कैसंग भागेको घटनाहरु थुप्रै छन् ।

तापनि, नेपाल सरकारलाई केही फरक परेको छैन् । नेपालीहरुको घरपरिवार तहसनहस हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । नेपालको अर्थतन्त्र र नेपाली दुवै वैदेशिक रोजगारमा आश्रित छन् । अरु मुलुकले नेपालीलाई मजदुरी गर्न नलग्ने हो भने नेपालीहरु भोकभोकै मर्छन् । यता, विदेश पठाउने कन्सल्टेन्सी र म्यानपावरको ठगीधन्दा पनि मौलाउदै गएको छ । सरकारले खाडी मुलुक जानलाई फ्रि टिकट फ्रि भिसा भनेपनि जनताले उपयोग गर्न पाएका छैन् । अहिले खाडी मुलुक जानकै लागि दुई–तीन लाख रुपैंया खर्च गर्नुपर्छ । म्यानपावरले पैसा लिन्छ तर पैसा बुझेको बिल दिदैन् । खाडी जाने व्यक्तिसंग १० हजारभन्दा बढी लिन नपाउने भनेपनि फितलो नियमकानुनका कारण सरकारकै नियमलाई धोती लगाउने काम भएको छ ।

आर्थिक कमजोर, नपढेका, सीधासाधी मानिसहरु खाडी मुलुक जान्छन् । मँहगो व्याजमा ऋण लिएर उनीहरुले म्यानपावरमा बुझाउछन् । तर, म्यानपावरले उनीहरुलाई आजभोलि भन्दै अड्काएर राखिदिन्छ । एक महिनामा भिसा लाग्छ भनेपनि कतिपयको ६ महिनासम्म पनि भिसा लाग्दैन् । भिसा लागेर उडीहालेपनि उता गएर एकदमै कष्टकर काममा पर्छन् । म्यानपावर कम्पनीहरुले सिधासाधीहरुलाई ठग्ने, झुल्याउने र दुःख दिने काम गरिरहेका छन् । तर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र श्रम विभागका महानिर्देशकहरुले मौन बसेका छन् । त्यस्ता कम्पनीलाई कारबाही गर्नुको साटो उनीहरुबाटै लुप्त भएर मोटाएर बसिरहेका छन् । काम नै नगर्ने तर कमिशन खानेचाहि तम्सिनेमा हाम्रो देशको तीनजना मन्त्री पर्छन् ।

श्रममन्त्री श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र भुमि सुधारमन्त्री शशी श्रेष्ठ कामचोर मन्त्री हुन् । काम नै नगर्ने र जतिबेला पनि पत्रकार सम्मेलन गर्ने । भ्रष्ट्राचार गरेर पार्टीलाई पोसेको कारण पार्टीले यिनीहरुलाई नहटाएको स्पष्ट बुझिन्छ । यी तिनै जना नेपालकै हालसम्मको असक्षममन्त्रीमा गनिन्छन् । यता, कन्सल्टेन्सीहरुमा पनि ठगीधन्दा मौलाउदो छ । कन्सल्टेन्सी सञ्चालकहरुले बाहिर पठाउने नाममा पैसा लिएको र नपठाएको अहिले सर्वत्र चर्चाको विषय बनेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाली विद्यार्थीको भ्रम चिर्न नसक्दा शिक्षाका लागि विदेश जाने विद्यार्थीको ओइरो लागेको छ । उनको कमीकमजोरीको कारण नेपालको शैक्षिक गुणस्तरमाथि नै प्रश्न उठेको छ ।
शिक्षामन्त्री पौडेलले कमिशन खाएर धमाधम लेटरप्याडमा छाप हिर्काउदा नेपाली विद्यार्थीहरु सबै बाहिर गएका छन् । पढ्ने नाममा नेपाललाई टाट पल्टाउने काम भइरहेको छ । विद्यार्थी त जान्छ पछि आफ्नो बाबुआमा र भएको सम्पत्ति पनि लान्छ । पढ्नको लागि विदेश जाने काममा रोक लगाऔ । नेपालमा पनि राम्राराम्रा, गुणस्तरीय कलेज छन् । सरकारी कलेजहरु प्नि थुप्रै छन् । तर, निजी कलेजले पढाउने नाममा लुट्ने, सरकारी शिक्षकशिक्षिकाहरु नपढाउने, राजनीतिक पार्टीको झोला बोकेर हिड्ने । शिक्षाको नाममा व्यापारीकरण हुँदा राम्रो शिक्षा हासिल गर्न भनेर विदेश जानेको संख्या बढ्यो ।

पछिल्लो समय नेपालमा कुन देश गएको हो ? त्यसको आर्थिक स्तर छुट्याउने गरिएको छ । विकसित मुलुक र खाडी मुलुक गएकालाई हेर्ने दृष्टि नै भिन्न भएको छ । छोराछोरी विकसित मुलुकमा छन् भन्यो भने जोपनि लहसिने गर्छ । तर, खाडी मुलुकमा छोराछोरी भएकालाई हेर्ने नजरिया नै भिन्न छ । पढाइ नभएर, क्षमता नभएर खाडी मुलुक गएर सोच्छ हाम्रो समाज । खाडी मुलुकमा पुगेर उसले देशको लागि कति योगदान गरेको छ कसैले हेर्दैन् । युवापुस्ता र सक्षम जनशक्तिहरु बाहिर जाँदा मुलुकको स्तर खस्किदै गयो । नेताहरु पनि उही नपढेका, सरकारी कर्मचारीहरु पनि उस्तै ।

दक्ष जनशक्तिहरु नेपालमै बसेको भए आज मुलुकको रुप फेरिन्थ्यो होला । राजनीतिक परिवर्तन हुन्थ्यो होला । पढेको र नपढेकोले राजनीतिक गर्नुमा धेरै अन्तर हुँदा रहेछ भन्ने उदाहरण नेपालले नै अरु मुलुकलाई दिएको छ । नेपालका दक्ष जनशक्तिहरुले हार खाँदा आज देश कंगाल भयो । उनीहरुको सिप र क्षमता यही प्रयोग गरेको भए नेपाल समृद्ध हुने थियो । राजनीतिक दलहरु जिम्मेवार नहुँदा गाँउको जमिन बाँझै छ । विदेशमा गएर उही नेपाली खेत खनिरहेका छन् तर यहाँको जमिन बाझो छ भन्नुपर्ने लाज लाग्ने कुरा हो । हरेक सामान बाहिर मुलुकबाट आयात गरिरहेका छन् । व्यापार घाटा बढ्दो छ । अनि जो जहाँ गएपनि नेपाललाई के फाइदा भो ?

देश मँहगी र व्यापार घाटाको दलदलमा फस्दै गएको छ । विदेश गएर कमाएको पैसासमेत सही ठाँउमा लगानी गर्न नसक्दा नेपाल सखापै हुने भयो । हरेक व्यक्तिको एउटै सोचाइः विदेशमा गएर कमाउने, यहाँ आएर घर बनाउने र सोखसंग बस्ने । उद्योग खोल्नतिर कसैको ध्यान नै जादैन् । उद्योग खोलिदिने हो भने रोजगारीको अवसर सिर्जना हुन्छ । राज्यले पनि राजश्व पाउछ । तर, नेता मात्र होइन् हामी नेपाली पनि जिम्मेवार बनेनौ । उद्योगहरु नखुल्दा बेरोजगारी बढ्दो छ । राज्यले पनि उद्योग खोल्नेलाई कर छुट दिने भनेर नीति बनाएन् ।
घर बनाउन कडाइ गर्ने काम पनि राज्यद्धारा भएन् । विदेश जानेको संख्या दैनिक बढिरहेको छ । नेपाली जनतालाई अरु देशमा बेचेर राज्य कतिञ्जेल सञ्चालन गर्ने ? नेपालीलाई सधैं आफ्नो घरपरिवारबाट छुट्याइरहने ? सरकार चलाउनलाई नेपालीले कहिलेसम्म विदेश जाने ? यसको निराकरण खोज सरकार ।
अनुसा थापा
भक्तपुर

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal