
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राजश्व घटाउन रोईकराई गर्ने बानी हटाएर उत्पादन बढाउनु पर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रभाकरले सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने दुबै गलत भएको बताए ।
मन्त्री प्रभाकरले अहिले मुलुकमा वैदेशिक लगानी लगानी बढ्ने क्रममा रहेको समेत बताउँदै केही प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको जानकारी दिए ।
बाँझो जमिनमा खेती गरेर उत्पादनमा बढाउन सरकारले जोड दिएको बताए । उनले खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै कृषिमा रुपान्तरण जरुरी रहेको बताए ।
अर्थमन्त्री प्रभाकरले उद्योगीको मागअनुसार उत्पादनमूलक उद्योगमा विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको बताए । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने आग्रह समेत गरे ।
सरकारले बढी कर लिएर उत्पादन महंगो परेको भए त्यसमा सरकारले सहजीकरण गर्न तयार रहेको बताउँदै मन्त्री प्रभाकरले निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको बताए । उनले स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।
खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।