आज :

कञ्चन र सुदर्शनको काउन्टर विज्ञप्तिः विप्लवले पदीय हैसियत र नैतिकता गुमाए, छानविन आवश्यक

  • अनलाइन डबली

काठमाडौँ । नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको बताएका छन् । दुबै जना शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर आफूमाथि गरिएको भनिएको कारवाही अन्यायपूर्वक भएको भन्दै खारेज समेत गरेका छन् ।

विज्ञप्तिमा केन्द्रीय समिति बैठकको निर्णयअनुसार आफूहरुले गतिविधि गरेको भन्दै महासचिव विप्लव पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद,पार्टी संचालनको वैज्ञानिक पद्धती जनवादी केन्द्रीयता, वर्गसंघर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा घामजस्तै छर्लङ भएको उल्लेख छ ।

“क. महासचिव, हामीले हाम्रो गतिविधि १२ औँ बैठकको निर्णयअनुसार गरेका छौँ, बरु तपाईंहरू यो मान्यताबाट चिप्लिँदै गर्दा हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको वैज्ञानिक पद्धति जनवादी केन्द्रीयता, वर्गसङ्घर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा दिनको घामजस्तै प्रस्ट छ । हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो । अब भने तपाईंहरूले हामीलाई १२ औँ बैठकले दिएको विचारधारात्मक सर्वोच्चताको मान्यतालाई प्रयोग गर्ने स्थितिमा ल्याइपुर्याउनुभएको छ । हामीले कुनै हालतमा पनि अर्को केन्द्र खडा गरेर वितण्डा मच्चाइरहेका छैनौँ, बरु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेका छौँ जब कि चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन महासचिवलाई केले प्रेरित गर्यो ? यो चिन्ताको विषय भएको छ” विज्ञप्तिमा उल्लेख छ ।

महासचिव विप्लवले बैशाख १४ गते गरिएको कारवाही अवैधानिक भएको संयुक्त भनिएको छ । त्यस्तै बैठकको निर्णय उलंघन गर्ने विप्लव–प्रकाण्ड पदमा बिराजमान हुने हास्यास्पद भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी आठौँ केन्द्रीय समितिको १२ औँ बैठकद्वारा दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत ‘चुनाव प्रयोग गर्ने’ कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहने नैतिकता गुमाएर पनि सोही पदमा रहिरहनुभएका कमरेड विप्लवले वि.सं. २०७९ वैशाख १४ गते एक वक्तव्य जारी गरी सचिवालय सदस्यद्वय क. कञ्चन र क. सुदर्शनलाई पदमुक्त गरेको घोषणा गर्नुभएको छ । यो कारबाही सरासर अवैधानिक छ । दार्शनिक रूपमा यो निषेधात्मक अधिभूतवाद हो । ‘दलाल पुँजीवादी राज्यसत्ताअन्तर्गतको निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने’ निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध कमरेडहरूमाथि यो दण्ड गरिएको छ भने यसको उल्लङ्घन गर्ने स्वयम् महासचिव र सचिवालय सदस्य प्रकाण्ड पदमै विराजमान हुनु हास्यास्पद विषय हो ।”

बैठकमा नजाँदै कालीकोटमा प्रवक्ता प्रकाण्डले कालिकोटमा सबै एकातिर भएपनि म एक्लै पनि चुनाव जित्छु भनेर कोकोहोलो मच्चाएको भन्दै विज्ञप्तिमा भनिएको छ, “हामी दुनियाँसामु के स्पष्ट पार्न चाहन्छौँ भने ‘चुनावमा भाग नलिने’ पहलु नै निर्णयको प्रधान पहलु हो र ‘देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई समर्थन गर्न सकिने’ पहलु गौण हो । तर यहाँ ‘नेतृत्व’ स्वयम्ले गौण पहलुलाई प्रधान बनाएर आफ्नो सारसङ्ग्रहवादी गल्ती दोहोर्याएको छ । परिणामस्वरूप पार्टी निर्वाचनमा भाग लिँदैन भन्दाभन्दै जबर्जस्ती केन्द्रीय समिति सदस्यहरू र जिल्ला समितिका पदाधिकारीहरू स्थानीय निर्वाचनमा उठाइएका छन् । हामीमाथि यस्ता आरोपहरू लगाइएका छन्– ‘मालेमावादी सङ्गठनात्मक विधि र एकीकृत जनक्रान्तिको विपरीत सञ्चारमाध्यमहरूमा छाडा र अराजक भएको’, ‘नेतृत्वको संयमता र उदारतालाई कमजोरीका रूपमा लिएको’, ‘सचिवालय सदस्य क. कञ्चनले कुनै सम्पर्क नै नगरी उम्मेदवारी फिर्ता लिन वक्तव्य जारी गरेको’, ‘स्थानीय चुनावलाई बहाना बनाएको’, ‘कमरेड सुदर्शनको सङ्गठनात्मक र आर्थिक मामिला मध्यकमान्डमा छँदै नमिलेको’, ‘सुदर्शनको गिरफ्तारी आफ्नै मान्छेबाट भएको’, ‘कमरेड कञ्चन र सुदर्शनले कार्यनीतिसम्बन्धी संसदीय बहस नै गरेको’, ‘जब कुनै नेताले आफ्नो दृष्टिकोण र गतिविधि पार्टी मान्यताविपरीत बनाउँछ तब ऊ पार्टी सम्बन्धबाट स्वतन्त्र भई अलग हुने बाटोको सहज निकास खोज्दछ’, ‘अलग केन्द्रका रूपमा बितण्डा मच्चाएको’, ‘विभिन्न तत्वहरूको उक्साहटमा लागेको’ र ‘अराजकतावादी, अवसरवादी र विचलनवादी भएको’ इत्यादि । हामी के जबाफ दिन चाहन्छौँ भने क. महासचिवले तथ्यका आधारमा तर्क गर्दा फाइदा हुन्थ्यो । बैठकमा नजाँदै कालीकोटमा ‘म एक्लै र अरू सबै अर्कोतिर लागे पनि म नै चुनाव जित्छुु’, बैठक सुरु भएपछि ‘चुनावमा भाग लिने प्रस्ताव आएको छ, यही पारित हुन्छ’ र बैठकबाट फर्र्किकएपछि निर्वाचन आयोगमा उभिएर ‘चुनावमा भाग लिने मात्र होइन, मोर्चा कसेर जान्छौँ’, भन्दै कोकोहोलो मच्चाउने हामी हौँ कि तपाईंको आधिकारिक अभिव्यक्तिका रूपमा चुनिएका प्रवक्ता प्रकाण्ड ? त्यसकारण क. महासचिव, मालेमावादी विधि भनेको सांस्कृतिक क्रान्तिसम्मको मूल्य र मान्यता हो । यसको अर्थ अन्ततःविद्रोह गर्नु अधिकार हो । ‘एकीकृत जनक्रान्ति’ स्वयम् विद्रोहबाट जन्मिएको होइन र ?”

त्यसैगरी १२ बैंकको मसी सुक्न नपाउँदै चैत्र १८ गते चितवनको प्रशिक्षमा महासचिव विप्लवले रञ्जु दर्शना मोडेलका उम्मेदवारी चोकचोकमा निकाल्न खोजेको तर इकालास्तरीय योग्यता नभएका केन्द्रीय समितिले चुनावमा जान नदिएको भनेको विज्ञप्तिमा उल्लेख छ ।

“महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२ औँ बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईंले ‘मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ ?’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोकचोकबाट निकाल्न खोजेको तर इलाकास्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र ? बरु बारम्बार ‘चित्त नबुझेको भए गए पनि हुन्छ’ भनी भनेको होइन र ? अनि तपाईं कसरी संयम र उदार हुनुभयो ? पछिल्लो सचिवालय बैठकमा ‘महासचिव र प्रवक्ताले विगतका जस्ता गल्ती–कमजोरी नगर्ने’, ‘उपरान्त कोही पनि बाहिर नबोल्ने’, ‘क. सुदर्शनमाथि लगाइएको आरोपको खण्डन गर्ने’ निर्णयको उल्लङ्घन गर्दै सहिद परिवारदेखि कार्यकर्ता र नेतालाई उम्मेदवार बनाउन पहल गर्ने महासचिव र प्रवक्ता स्वयम्ले चुनावका निम्ति मरिमेटेर दौडधूप गर्नेजस्ता गतिविधिबाट निर्णय उल्लङ्घन भएपछि क. कञ्चनको वक्तव्य आएको हो । हामीले पटकपटक महासचिव र सचिवालयलाई पार्टी केन्द्रीय समिति सदस्य र जिल्ला नेतृत्वहरू स्वतन्त्र उम्मेदवार उठ्नु भनेको पार्टी नै चुनावमा होमिनु हो भन्ने कुरा राख्दाराख्दै पनि वास्ता नगरिएपछि क. कञ्चनमार्फत सचिवालयका तर्फबाट १२ औँ बैठकको निर्णय पालन गर्ने साथीहरूलाई उम्मेदवारी फिर्ता लिनका लागि वक्तव्य जारी गर्न बाध्य भएका हौँ । हामीले फिर्ता नलिएमा कारबाही गर्ने कुरै गरेका छैनौँ किनभने साम्यवादी अनुशासन लादिँदैन, बरु त्यो त स्वअनुशासन हो । स्वअनुशासन भएका कमरेडहरूले उम्मेदवारी फिर्ता पनि लिनुभएको छ” विज्ञप्तिमा उल्लेख छभ ।

विप्लवले नियतबस सुदर्शनमाथि आर्थिक अपचलन आरोप लगाएको भन्दै आर्थिक जिम्मेवारीमा रहेका प्रकाण्ड र महासचिव विप्वलका आर्थिक जीवनका बारेमा सं्रोत र खर्चको पारदर्शीता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

“जहाँसम्म मध्यकमान्ड हुँदै क. सुदर्शनसँग सङ्गठनात्मक र आर्थिक मामिलासम्बन्धी सङ्घर्ष परेको थियो भन्ने कुरा छ, त्यो जुनसुकै नियतबाट उठाइएको भए पनि महासचिवले सही कुरा उठाउनुभएको छ । पार्टीको आर्थिक प्रणाली अनुशासित बनाउन हामीले आर्थिक प्रणाली बनाउनुका साथै निश्चित नीति निर्माण गरेका छौँ । त्यस नीतिअन्तर्गत आर्थिक परिचालन हुँदै आएको छ । जहाँसम्म उहाँमाथि आर्थिक अपचलनको विषय उठेको छ, त्यो झूटो आरोप हो भन्ने स्पष्ट छ । यस वक्तव्यमार्फत के स्पष्ट गर्न चाहन्छौँ भने पार्टीजीवनको विगत ७ वर्षसम्म आर्थिक जिम्मेवारीमा रहनुभएका कमरेड प्रकाण्ड र स्वयम् महासचिवलगायत पार्टीको आर्थिक जीवनका बारेमा स्रोत र खर्चको पारदर्शिता आवश्यक छ । क. सुदर्शन र अरू क्रान्तिकारी साथीहरूले सङ्गठनात्मक रूपले मात्र सङ्गठित पार्टी सदस्यहरू मात्र नभएर विचारधारात्मक रूपले पनि सङ्गठित पार्टी सदस्य, जनतासँग घनिष्ट रूपले जोडिएको पार्टी सङ्गठन, सडकछाप बनाइएका पार्टी सदस्य र जवस÷मोर्चाका सदस्यहरूलाई सङ्गठनमा आबद्ध गराउने, गल्ती गर्ने पार्टी सदस्य र जवस÷मोर्चाका सदस्यहरूलाई उचित तथा प्रक्रियागत कारबाही र रूपान्तरण गर्न सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादको विरोध गरिरहनुभएको थियो भने प्रकाण्डको आचरण यसको विपरीत थियो । क. प्रकाण्डको निषेधात्मक अधिभूतवाद र जुझारु अर्थवादप्रति महासचिवको स्वीकृति रहेको कुरा आज दुई लाइन सङ्घर्षका क्रममा पुष्टि भएको छ । परिणामतः कार्यकर्ताको मूल्याङ्कन नै अर्थवादी दृष्टिकोणले हुन गयो । यसका विरुद्ध लड्दै मध्यकमान्डमा सुदर्शन र क्रान्तिकारी कमरेडहरूले जनतासँग जोडिएको पार्टी, संयुक्त मोर्चा र जनसङ्गठन अघि बढाएको पुरस्कारका रूपमा नै क. सुदर्शन र उहाँको टिम गिरफ्तार भएको कुरा अब उजागर हुँदै गएको छ” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, सुदर्शनले दाङ, रुकुम र जाजरकोटमा प्रशिक्षण दिँदा स्थानीय निर्वाचनलाई कार्यनीति भनेर र कञ्चनले दसौँ बैठकमा शासकीय स्वरूप राष्ट्रपतीय हुनुपर्छ कि ? भनी गरेको तर्कलाई संसदीय बहस भनिएको भन्दै आपत्ति जनाइएको छ । त्यस्तै, दसौँ बैठकमा महासचिवले गाउँगाउँमा नामावली सङ्कलनको निर्देशन दिएर संसदीय बहस सुरु गरिसकेको उल्लेख छ ।

आफूहरुले अर्को केन्द्र खडा नगरेको बरु नेकपाको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, “क. महासचिव, हामीले हाम्रो गतिविधि १२ औँ बैठकको निर्णयअनुसार गरेका छौँ, बरु तपाईंहरू यो मान्यताबाट चिप्लिँदै गर्दा हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको वैज्ञानिक पद्धति जनवादी केन्द्रीयता, वर्गसङ्घर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा दिनको घामजस्तै प्रस्ट छ । हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो । अब भने तपाईंहरूले हामीलाई १२औँ बैठकले दिएको विचारधारात्मक सर्वोच्चताको मान्यतालाई प्रयोग गर्ने स्थितिमा ल्याइपुर्याउनुभएको छ । हामीले कुनै हालतमा पनि अर्को केन्द्र खडा गरेर वितण्डा मच्चाइरहेका छैनौँ, बरु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेका छौँ जब कि चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन महासचिवलाई केले प्रेरित गर्यो ? यो चिन्ताको विषय भएको छ ।”

विज्ञप्तिको अन्त्यमा महासचिवको राजनीतिक चरित्रमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई पार्टीको झण्डामुनी गोलबद्ध हुन अपील समेत गरिएको छ ।

“हामी मालेमावाद, साम्यवादी पद्धति र जनताप्रति विश्वस्त भएर प्रतिक्रान्तिकारी तत्वहरू– दार्शनिक रूपमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसद्वादी संशोधनवाद, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, वर्गसङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिकोणले जुझारु अर्थवादका विरुद्ध लडिरहेका छौँ । समग्रतः तपाईंको राजनीतिक चरित्रमा जुन प्रकारको वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएको छ, त्यसका विरुद्ध सङ्घर्ष गरेका छौँ । यसर्थ हामीलाई ‘विभिन्न तत्वहरूबाट उक्साइएको’ भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्र हो । हामी इमानदार नेता तथा कार्यकर्ता र जनतालाई यो आरोपबारे छानबिन गरी न्याय गर्न हार्दिक अनुरोध गर्दछौँ । अतः क. महासचिवले गरेको यो कथित कारबाही खारेज गरिएको छ र उहाँलाई आफ्ना सम्पूर्ण गल्तीहरू सच्याउन आग्रह गरिन्छ । साथै क्रान्तिकारी रूपान्तरणसहितको पार्टी निर्माण गर्न सम्पूर्ण पार्टी समितिहरू, पार्टी सदस्यहरू, जवस तथा मोर्चाहरू, सहिद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, राजबन्दी तथा उहाँका परिवार सबैमा एकताबद्ध भई पार्टीको झन्डामुनि गोलबन्द हुन आह्वान गर्दछौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal