आज :

सिभिल अस्पतालको छानबिनमै आशंका, श्रमजीवी-पत्रकार संघकाे धर्ना

काठमाडौँ । समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको मृत्यु प्रकरणका विषयमा गठित सिभिल अस्पतालको छानबिन समितिमाथि आशंका बढेको छ ।

श्रमजिवी-पत्रकार संघ, नेपाल, नेपाल पत्रकार महासंघ, क्रियाशील दलित पत्रकार संघले गरेको आन्तरिक अनुसन्धानका क्रममा सिभिल अस्पतालले चार घण्टासम्म आर्थिक कारण देखाउँदै उपचारमा लापरबाही गर्दा पत्रकार एलबीको मृत्यु भएको बताएका छन् ।

चौतर्फी दबाब र आलोचनापछि सिभिल अस्पतालले ढिलो गरि छानबिन समिति गठन गरेको छ । तर छानबिन समितिले वास्तविकता बाहिर ल्याउनेभन्दा ढाकछोप गर्नतिर लागेको पत्रकार एलबीको न्यायका लागि लागेका पत्रकारको आरोप छ ।

सिभिलले अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले छानबिन समेत अघि बढाएको छ ।

तर अस्पतालका निर्देशक विधाननिधि पौडेलले वास्तविकता बाहिर ल्याउनेभन्दा पत्रकार एलबीको न्यायका लागि लडिरहेका पत्रकारसँग झुटो बोल्दै पन्छिन थालेको श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । उनका अनुसार आफू कोभिड संक्रमित भएको भनेर घरमै बसेको भन्दै धनगढी पुगेर स्वास्थ्य शिविरमा सरिक भएको पाइएको उनले बताए ।

‘हामीले सुरुदेखि नै सिभिल अस्पताल प्रशासनलाई दबाब दिंदै निष्पक्ष छानविनसहित दोषीलाई कारबाही र मृतकलाई क्षतिपूर्ति एवं हस्पिटलमा नीतिगत रुपमा सुधारको माग उठाउँदै आएका छौं,’ अध्यक्ष जैसीले भने, ‘तर अस्पतालका निर्देशक विधाननिधि पौडेल आइसोलेसनमा छु भन्दै अस्पताल नआई सामान्य प्रशासनको अस्पताल सञ्चालनका लागि बनाएको निर्देशिका विपरित धनगढीस्थित कैलाली अस्पतालमा शिविर चलाएर बसेको देखियो ।’

सिभिल अस्पतालकै छानबिन समितिले पनि अनुसन्धानका क्रममा अस्पतालका निर्देशक पौडेलसँग सोधपुछ गर्ने तयारी छ । तर उनले यस विषयमा गैरजिम्मेवार जवाफ दिँदै आएको पत्रकार जैसीको भनाइ छ ।

पत्रकार एलबी विश्वकर्माको उपचारमा गम्भीर लापरबाही भएर ज्यान गुमाउने अवस्थामा पुर्याउने सिभिल अस्पतालसँग सोधपुछ गर्न घटना भएकै भोलिपल्ट श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जैसीकाे नेतृत्वमा पत्रकारहरु तथा मृतकका अाफन्त अस्पताल प्रशासनमा पुगेका थिए ।

सिभिल अस्पतालका प्रशासन प्रमुख अनुजजंग रायमाझीसँग अध्यक्ष बस्नेतले पटक पटक छानबिन कहिले गर्ने ? अस्पतालको लापरबाही दोहोरिरहेको छ ? अब पनि नसुधार्ने किन ? भन्दै प्रश्न गरिरहेका थिए । तर सिभिल अस्पतालका प्रमुख रायमाझीले उनै निर्देशक पौडेललाई देखाएर जवाफ दिन छाडेर पन्छिरहे ।

त्यतिबेला पौडेललाई कोरोना संक्रमण भएर अस्पतालमा नआएकाले तत्काल छानबिन हुन नसक्ने उनको जवाफ थियो । तर चौतर्फी आलोचना र दबाब बढेपछि रायमाझी छानबिन समिति गठन गर्न बाध्य भए । समिति गठन गरेपनि पत्रकार महासंघ लगायत संघ संस्थाले अस्पतालको लापरबाहीबारे तथ्य बाहिर ल्याएपछि सिभिल प्रशासन तनावमा परेको छ ।

‘सिभिल अस्पतालको लापरबाही कँही कतै छिपेको छैन,’ पत्रकार जैसीले भने, ‘यसैका विषयमा हामीले जिम्मेवार कर्मचारीसँग निरन्तर भेटघाट गर्ने, घटनाबारे बुझ्ने, सत्यतथ्य बाहिर ल्याउन छानबिन समितिलाई सहयोग गर्नुपर्छ भन्दा उल्टै गैरजिम्मेवार जवाफ र कमजोरी ढाकछोप गर्ने प्रयास गरिदैँछ । यसका विरुद्ध हामी आइतबारदेखि धर्नाको कार्यक्रम गर्दैछौ ।’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सिभिल अस्पतालका निर्देशक पौडेल सम्पर्कमा आउन चाहेनन् । सिभिल अस्पताल प्रमुख रायमाझीले भने यसबारे जवाफ दिन इन्कार गरे ।

‘तपाईहरु एउटै विषयलाई कति तन्काइरहेको हो भन्या,’ उनले इकागजसँग भने, ‘हामीले छानबिन गरिरहेका छौँ भनिरहेका छौँ त । अब के गर्नुपर्ने हो ?’ त्यसपछि उनले फोन काटेका थिए । त्यसपछि पटक पटक सम्पर्क प्रयास गर्दा पनि निर्देशक पौडेल र प्रशासन प्रमुख रायमाझी सम्पर्कमा आएनन् ।

श्रमजिवि पत्रकार संघले आइतबारदेखि सिभिल अस्पतालमा पत्रकार एलबीको मृत्यु प्र्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै धर्ना दिने जनाएको छ । यसअघि पनि पटक पटक लापरबाही गरिरहेको सिभिल अस्पतालले पत्रकार एलबीको उपचारमा गरेको लापरबाही ढाकछोप गर्ने प्रयास गरेको आरोप जैसीको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal