
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमात्रै रहेन गरी इजलास तोकेर मुद्धा हेर्न थालेका छन् । जबरामा बुधबार पाँचको सुनुवाई गरेका छन् ।
राजिनामा माग गर्दै न्यायाधीशहरुको इजलास बहिष्कार गरेपछि जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन् । उनले आज हेरको मुद्धामध्ये दुईमा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ ।
जबराले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश गरेका छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।
सर्वोच्चकै न्यायाधीशले राजिनामा माग गर्दै इजलास बहिस्कार गरेसँगे नेपाल बार एशोसिएशनले पनि मुद्धा हेर्न सर्वोच्च नजाने निर्णय गरेको छ । त्यस्तै, वरिष्ठ अधिवक्ताहरुले पनि इजलास बहिस्कार गर्ने बताउँदै आएका छन् ।
प्रधानन्यायाधीश जबराले राजिनामा माग गर्दै घेराबन्दी गरेपछि आफू निकटसँग मंगलबार छलफल पनि गरेका छन् । उनले राजिनामा नदिने आउने परिस्थितिको सामना गर्ने बताएको स्रोतको दाबी छ ।
स्रोतले भन्यो, “श्रीमानले राजिनामा गर्ने कुरै हुँदैन, बरु महाअभियोगको सामना गर्न तयार छु भन्नुभयो ।” जबराले आफू जंगबहादुरको सन्तान भएकोले पछि नहट्ने बताएको स्रोतको दाबी छ ।