
काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट कोरोना भाइरविरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको डोज दिइनेछ ।
सर्वसाधारण र अत्यावश्यक गरी दुई भागमा विभाजन गरि खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबार बसेको बैठकले अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।
त्यसैगरी सर्वसाधारणको लागि भने काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् । यसअघि भेरोसेलको दोस्रो डोज र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो ।
यसैबीच पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै काठमाडौँ संक्रमति थपिएका छन् । काठमाडौं उपत्यकामा ८५९ जनामा संक्रमित भएको र काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित थपिएका थिए ।
त्यसैगरी बुधबार नै १ हजार ९९३ जना संक्रमणमुक्त भएका थिए । अब देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको छ । त्यस्तै, बुधबार थप ३३ जनाको कोरोनाबाट ज्यान गएको छ ।
संक्रमितहरुमा १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, सुनसरीमा १७६, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका थिए ।
त्यसैगरी काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्याग्दीमा २०÷२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११÷११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।