
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लामो समयदेखि सँगै रहेका आधा दर्जनभन्दा बढी नेताहरुले साथ छोडेका छन् । ओली प्रधानमन्त्री हुँदासम्म सँगै रहेका उनीहरुले एकाएक साथ छोडेका हुन् ।
सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै एमालेको ओली समूहभित्र पनि विवाद सिर्जना भएको थियो । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै एमालेकै २३ जना सांसदहरुले हस्ताक्षर गरेकै थिए ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये झलनाथ खनाल उपचारको क्रममा दिल्लीमा रहेका छन् । उनले त्यहीबाट विज्ञप्ति जारी गर्दै देउवालाई विश्वाको मत दिन एमालेका सांसदहरुलाई अपील गर्दै आफ्नो पनि समर्थन रहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहले आफ्नै समूहका सांसदहरुको रक्षा गर्न समेत असफल भएको छ । पार्टी र संसदमा बहुमत भएको ओली समूह सत्ताबाट हट्ने बित्तिकै विस्तारै कमजोर हुने देखिएको छ । नेपाल समूहको ४० प्रतिशत पुग्ने एमाले नेताहरु बताउन थालेका छन् ।
ओलीले थोरै दिनको लागि वनमन्त्री बनाएका प्रेम आलेसहितका ८ जना सांसदले साथ छोडेका छन् । उनीहरु अब नेता माधव कुमार नेपाल समूहतिर लाग्ने बताइएको छ । तर, आले आफैले कता लाग्नेबारे बताइसकेका छैनन् । उसो त ओलेले देउवाले मन्त्रिमण्डल विस्तार गर्नुअघि बुढानिलकण्ठ पुगेर आफ्नो साथ रहने भन्दै मन्त्री पद मागेको कुरा पनि सार्वजनिक भएको थियो ।
ओलीले आफूलाई धोका दिएको, थोरै समयमै मन्त्रीबाट हटाएर लज्जित गरेको भन्दै आलेले सन्तुष्टि पोख्दै आएका थिए । आलेसँगै ओली समूहतिर लाग्दै आएका हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, विनादेवी बुढाथोकीलगायत ८ जना सांसदहरुले देउवालाई विश्वासको मत दिए ।
देउवाले विश्वासको मत लिएसँगै एमालेभित्रको विवाद झन गिजोलिएको छ । कुल १२१ सांसद रहेको एमालेमा अब ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ ।
त्यस्तै, नेपाल समूहबाट देउवालाई विश्वासको मत नदिनेमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले मत दिएनन् ।
त्यस्तै, माधव कुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेलगायतले देउवालाई विश्वासको मत दिए ।
प्रधानमन्त्री देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना सांसद तटस्थ रहे ।
डोटीबाट निर्वाचित आलेले साथ छोडेसँगै सुदूरपश्चिम प्रदेशमा ओली समूह कमजोर हुने एमाले नेताहरु बताउँछन् ।