
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाललाई मिलाउने अन्तिम प्रयास गरिएको छ । त्यसको लागि कार्यदलमा सहभागी नेताहरुले छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि विभाजन नजिक पुगेको एमालेलाई एकतावद्ध बनाउने अन्तिम प्रयासस्वरुप शनिबार दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । एकताको लागि भन्दै १० बुँदे खाका तयार गरेको केही घण्टामै सर्वोच्चले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । योसँगै एमालेको कार्यदलले गरेको सहमति औचित्यहिन भएको भन्दै ओली समूहले छलफल नगर्ने बताएको थियो ।
शुक्रबार ओली समूहले पार्टीको स्थायी समिति र संसदीय दलको बैठक गरेको थियो । दुबै बैठक रोक्न नेपाल समूहका दोस्रो तहका नेताहरुले गरेको प्रयास असफल भएको थियो । ओलीले उनीहरुका कुरा सुने तर बैठक अगाडि बढाएका थिए ।
उसो नेता नेपालले सर्वोच्चको फैसलापछि अब आफू विपक्षी गठबन्धनमा नरहेको समेत बताएका थिए । उनले सिंगो एमालेको निर्णयअनुसार अगाडि बढ्ने बताएका थिए । अदालतको फैसलापछि नेपाल निवासमा पुगेका देउवा र प्रचण्डलाई यो जवाफ दिएका थिए ।
प्रधानमन्त्री देउवाले नेपालसँग औपचारिक रुपमै विश्वासको मत दिन आग्रह गरेका छन् भने आवश्यक परे पार्टी विभाजनको लागि सजिलो बनाइदिने आवश्वासन समेत दिएको बताइएको छ ।
औपचारिक विभाजनको डिलमै पुगेको एमालेलाई फर्काउने दोस्रो तहका नेताहरुको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । अदालतको फैसलासँगै ओली समूहका नेताहरुले कार्यदल नै विघटन भएको बताएका थिए । तर, शनिबार दुबै समूहका नेताहरु सिंहदरबारमा जुटेका छन् ।
शुक्रबार बसेको ओली समूहको स्थायी समिति बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेसँगै एकताको सम्भावना रहेको नेताहरुले बताएका छन् । ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिएका थिए । त्यस्तै, कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकामा बैठकले धन्यवाद दिँदै कार्यदल विघटन गर्ने निर्णय गरेको थियो ।
एमाले एकताका लागि भन्दै जेठ २ मा दुवै पक्षका पाँच÷पाँच जनाको कार्यदल गठन गरिएको थियो। कार्यदलमा संस्थापनतर्फ स्थायी समिति सदस्य सुवास नेम्बाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र विष्णु रिमाल थिए। नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।
आजको अनौपचारिक छलफलमा कार्यदलका सदस्यबाहेक पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि सहभागी भएका छन् ।