
काठमाडौं । बुधबारदेखि देशका धेरै स्थानमा लगातार बर्षा हुँदा विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दूधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ । यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमलालगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बर्षासँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो आएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।
सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।
यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य योसडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।
यसैबीच नारायणगढ–मुग्लिङ सडकसँगै देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।