
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी भइरहेको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी भइरहेको हो ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आज अपराह्न बस्ने तयारी भइरहेको छ । कुनै कारण आज बस्न नसकिए भोलि विहान तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निषेधाज्ञा थप्ने तयारी भइरहेको छ ।
अब थप हुने निषेधाज्ञा थप खुकुलो बनाइने भएको छ । थप गरिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो संचालन गर्ने दिनेबारे छलफल भइरहेको छ । यसअघि २५ सिटभन्दा माथिका सार्वजनिक सवारी सधानलाई मात्रै संचालन गर्न अनुमति दिइएको छ ।
अहिले सवारी सधानमा लागु गरिएको जोर बिजोर प्रणाली नहट्ने भएको छ ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।