
काठमाडौं । हिजो विहानैदेखि देशका धेरै ठाउँमा भारी बर्षा भइरहेको छ । वर्षाका कारण नदी र खोलाहरुमा पानीको सतह खतराको संकेत पार गरेको छ भने बाढी पहिरो आएको छ ।
चितवनसहित तराईका केही स्थान डुबानमा परेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनभरि नै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि प्रदेश–१, प्रदेश–२, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार अझै तीन दिन पानी पर्ने र रोकिने क्रम चलिरहने छ । पहाडी भेगमा पहिरोका साथै नदीनाला तथा खहरे खोलाहरुमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रातिदेखिको पानीले तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ ।
यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैगरी गोरखा, लमजुङ, मकवानपुर, झापा, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।