आज :

भारी बर्षाः देशका धेरै ठाउँमा बाढी–पहिरो, नारायणघट–मुग्लिनसहित १४ सडक अवरुद्ध

काठमाडौं । देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । बर्षासँगै देशका धेरै ठाउँमा बाढी–पहिरो आएको छ । तपाईका धेरै क्षेत्र जलमग्न भएका छन् भने केही क्षेत्र डुबानमा परेको छ ।

वर्षासँगै मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका बस्ती डुबानामा परेका छन् । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा झरी परिरहेको छ ।

बर्षासँगै आएको बाढी र पहिरोका कारण नारायणघाट–मुग्लिनसहित देशका १४ सडक खण्ड बन्द भएको सडक विभागले जनाएको छ । ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् ।

नारायणघाट–मुग्लिङ सडक खण्डको चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।
डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ । यस्तै मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउने सडक पनि बन्द भएको छ ।

त्यसैगरी ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर–चामे सडक खण्ड पनि ठाउँ–ठाउँमा बन्द छ ।

मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर–कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ ।

गएराति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । नेपालमा मनसुन सुरु भएयता ३३ जनाको ज्यान गएको छ । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

गृह मन्त्रालयका अनुसार मनसुन सुरुको २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई÷दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक÷एक जनाको ज्यान गएको छ ।

यस्तै यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । यस्तै, यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४ सय ७५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै, आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal