News Portal

  • कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव र कोरोनाकालपछिको सम्भावना

    पवित्रा दाहाल२०७८ आषाढ १८ गते
    ४१२ पटक

    झण्डै २ वर्षदेखि विश्व नै कोरोनाको प्रभावमा लपेटिएको छ । महामारीको रुप लिएको कोरोनाको फेरी तेस्रो भेरियन्टको आगमन भएको भन्ने कुरा विभिन्न समाचार माध्यमबाट सुन्न सकिन्छ । कोरोनाले मानिसमा त्रास फैलाएको त छ नै, सँगै विश्व नै अर्थतन्त्रको हिसाबले पनि धरासायीमा रहेको छ । अझ नेपालजस्तो विकासोन्मुख देशमा त झन् यसले निकै नै प्रभाव पारेको छ ।

    नेपाल विश्वको सबैभन्दा कम विकसित देशहरुमध्ये एक हो साथै आर्थिक विकासमा पनि अन्य मुलूकभन्दा पछि परेको देश हो । अर्थतन्त्रका विभिन्न क्षेत्रहरुः उत्पादन, पर्यटकिय क्षेत्र, उद्योग व्यवसाय, श्रम बजार जस्ता क्षेत्रहरु प्रभावित भएकोले देशमा गरिबी, बेरोजगार र असमानता बढेको छ ।

    महामारीको कारण विश्वव्यापी रुपमा आर्थिक क्रियाकलापमा सुस्तता आएसँगै अधिकांश मुलूकको आर्थिक वृद्धि ऋणात्मक भएको छ । आर्थिक सर्वेक्षण २०७७/२०७८ अनुसार, सन् २०२० मा विश्व अर्थतन्त्र नै ३.३ प्रतिशतले संकुचन आएको थियो । वि.सं. २०७७ मा विश्व अर्थतन्त्रमा संकुचन आएपनि कोभिड–१९ विरुद्ध खोप अभियानले कोरोनालाई निर्मुल बनाउने ध्येयसहित सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरेको छ ।आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ बाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ, जुन वि.सं. २०७२ सालमा गएको विनाशकारी भुकम्पबाट सिर्जित क्षतिभन्दा उच्च हो । कोभिड–१९ विरुद्ध खोप अभियानले कोरोनालाई निर्मुल बनाउने ध्येयसहित सन् २०२१ मा आर्थिक वृद्धिदर ४.० प्रतिशतले बिस्तार हुने अनुमान गरेको छ ।

    नेपालमा कोरोनाले महामारी रुप लिएको पनि १ वर्ष बढी भइसक्यो । कृषि नै अर्थतन्त्रको मुख्य आधार भएकोले लकडाउनको कारणले कृषिजन्य वस्तु उत्पादनमा कमि आई पुरै अर्थतन्त्रलाई नकारात्मक असर पारेको छ । नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत् जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेका छन् । कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रले ठुलो हिस्सा ओगटेको कारणले अहिलेको समयमा कृषिको लागि रासायनिक मलको आयातमा कमि हुन गई पुरै अर्थतन्त्रलाई धक्का दिएको छ ।

    सन् २०२० को वृद्धिदर हेर्ने हो भने कुल ग्राहस्थ्य उत्पादन वृद्धि दर गतवर्षको तुलनामा १.८८ प्रतिशतले घटेको देखिन्छ । गतवर्षको कुल ग्राहस्थ्य उत्पादन वृद्धिदर ६.६६ प्रतिशत थियो । नेपालमा सन् २०२० देखि नै कोरोनाको निकै प्रभाव परेको थियो जसको कारणले नेपालको अर्थतन्त्रनै प्रभावित भएको देख्न सकिन्छ । आर्थिक वर्ष २०७७/२०७८ मा कुल ग्राहस्थ्य उत्पादन आधारभुत मुल्यमा ३.९४ प्रतिशत र उत्पादकको मूल्यमा ४.०१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । तर यो लक्ष्य भेट्टाउन सरकारलाई ठुलो चुनौती रहेको छ ।
    कुल ग्राहस्थ्य उत्पादन वृद्धिदर (प्रतिशतमा) ः

    स्रोतः आर्थिक सर्वेक्षण, २०७७/७८

    माथिको ग्राफबाट के बुझ्न सकिन्छ भने नेपालमा वि.सं. २०७२ सालको विनाशकारी भुकम्पमा सबैभन्दा प्रभाव उद्योग क्षेत्रमा परेको थियो । अन्य क्षेत्रमा पनि असर त परेको थियो तर वि.सं. २०७७ सालको कोभिड–१९ को तुलनामा कम थियो । वि.संं २०७७ सालको महामारीको कारणले उद्योगक्षेत्रलगाएत अन्य क्षेत्रमा ऋणात्मक असर परेको देख्न सकिन्छ ।

    यसैगरी, नेपालको अर्थतन्त्रमा पर्यटनको पनि निकै ठुलो हात रहेको छ । नेपाललाई विश्वको सबैभन्दा अग्लो पहाडहरुको घर पनि भनिन्छ । किनभने विश्वका अग्ला हिमालहरुमध्ये ८ ठुला हिमालहरु यहि अवस्थित छन् । यो पनि आर्थिक वृद्धिको महत्वपूर्ण स्रोत हो । कोरोना भाइरस महामारीले नपाली पर्यटन क्षेत्रलाई गम्भीर असर पुर्याएको छ ।

    सरकारले सन् २०२० मा नै ‘नेपाल भ्रमण २०२०’ अभियान सुरु गरेको थियो तर कोरोना महामारीको कारणले यो अभियान असफल भएको छ ।

    आर्थिक सर्वेक्षण २०७७/२०७८ अनुसार, सन् २०१९ मा कुल पर्यटक आगमनमा २.१ प्रतिशतले वृद्धि भई पर्यटक संख्या ११ लाख ९७ हजार १ सय ९१ पुगेको थियो, तर सन् २०२० को कोरोना महामारीको कारण पर्यटन व्यवसायमा ८१ प्रतिशतले संकुचन आई पर्यटक आगमन संख्या जम्मा २ लाख ३० हजार ८५ मा खुम्चिएको छ ।

    पर्यटक आगमन संख्या र वृद्धिदर (हजारमा) ः

    स्रोतः आर्थिक सर्वेक्षण, २०७७/७८

    वि.सं २०७६ पौषदेखि वि.सं. २०७७ पौषसम्मको अवधिमा विदेशी पर्यटकबाट कुल रु. २४ अर्ब ९५ करोड ५९ लाख आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कम हो । यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने नेपालको पर्यटक क्षेत्रलाई कोरोनाले ठुलै प्रभाव पारेको छ ।

    नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण तत्व विप्रेषण हो । अन्य क्षेत्रलाई कोभिड –१९ ले ठुलै असर पारेपनि यस क्षेत्रलाई भने खासै असर पारेको छैन । नेपालको लागि यो नै सबैभन्दा खुशीको विषय हो ।
    विप्रेषण आप्रवाह (करोडमा) ः


    स्रोतः आर्थिक सर्वेक्षण, २०७७/७८

    कोरोना संक्रमण हुनुअगावै विप्रेषण आप्रवाह ४ प्रतिशतले वृद्धि भएकोमा कोभिड संक्रमणको अवधिमा पनि यस्तो वृद्धिदर ४ प्रतिशत नै रहेको छ । नेपालमा कोरोना संक्रमण देखिएको महिना (२०७६ चैत) र २०७७ बैशाखमा भने विप्रेषण आप्रवाहमा उच्च गिरावट आएको थियो तर त्यसपछिको समयमा भने कोभिड–१९ को असर खासै देखिएको छैन ।

    कोरोनापछिको सम्भावना…..

    महामारीको रुपमा फैलिएको कोरोना अहिलेपनि नेपालमा कायमै छ । लामो समयदेखि फैलिएको यो भाइरसले विश्वको अर्थतन्त्र कता पुग्ने हो ठम्याउनै गाह्रो छ । अझ नेपालजस्तो कम विकसित देशमा त यसले धेरै ठुलो असर पारेको छ । अबको भविष्य के होला भन्ने कुरामा विश्वनै रनभुल्लमा परेको छ । अमेरिकाजस्ता ठुला राष्ट्रले त चुनौतीलाई सहजै समाधान गर्न सक्ला तर नेपालजस्तो साना राष्ट्रहरुलाई निकै नै कठिन रहने अनुमान लगाउन सकिन्छ । कोरोनापछि नेपाललाई पहिलेकै स्थितीमा आउन निकै नै समय खर्चिर्नुपर्ने देखिन्छ । नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने सबै क्षेत्रहरु ठप्प छन् । कति क्षेत्र त कोरोनाको प्रभावले बन्द समेत गरिसकेका छन् । नेपालको अर्थतन्त्रलाई सहज स्थितीमा ल्याउन अथवा नकारात्मक वृद्धिदर लाई सकारात्मक विन्दुमा ल्याउन सरकारलाई ठुलो चुनौती रहेको छ । यस्तो वृद्धिदरलाई बढाउन नेपालको उपल्लो स्तरमा रहेका मानिसहरु एकजुट भई बलियो रणनिती अपनाएर अगाडी बढ्नुपर्ने देखिन्छ । आशा छ सत्तामा रहेका सबै नेताहरु साथै सबै जनताहरु एकजुट भई कोरोनाले पारेको तहसनहसलाई पार गर्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्