
काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । बर्षासँगै आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ भने राजमार्ग अवरुद्ध भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।
महाशाखाका अनुसार मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेन छ । महाशाखाका अनुसार १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।
बर्षासँगै आएको बाढीले तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।
तनहुँ प्रहरीका अनुसार बाढीले बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बगाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदीलगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएकोछ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी बाढीले क्षति क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्चिी खोलाको बहाव बढेको छ ।
पानीको बहाव बढेसँगै घरबार गुमाएर खुला आकाशमा बसेका र अरुको शरणमा पुगेका स्थानीय फेरि चिन्तित बनेका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक प्रहरीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।