
काठमाडौं । नेकपा (एमाले) आजबाट पूरानै अवस्थामा फर्किने भएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले र नेकपा (माओवादी केन्द्र)को एकता खारेज भएको थियो । त्योसँगै एमालेमा एकता पूर्वका सबै संरचना ब्युँताउने प्रस्ताव आज पारित हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय स्थायी समिति बैठक बोलाएर मंगलबार एमालेका पूरानै संरचना ब्युँताउने निर्णय गरेको थियो । योसँगै दशौं महाधिवेशन आयोजक समिति भंग भएको छ ।
एमाले ओली समूहका प्रवक्ता प्रदिपकुमार ज्ञवालीका अनुसार भोलि (विहीबार) माओवादीसँग एकतापूर्वको एमालेको केन्द्रीय समिति बैठक बोलाएको छ । मंगलबार ओली समूहको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपालको मागअनुसार एकतापूर्वको पार्टी संरचना ब्यूँताउन ओली तयार भएका हुन् । तर, नेता नेपालसहितका नेताहरुलाई भने बैठकमा बोलाइएको छ । सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई समाधान गरी पार्टीलाई एकतावद्ध बनाउन भोलिको बैठक बोलाइएको ओली समूहका नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित पछि ओलीले आफू पक्षीय नेताहरुको बैठक बोलाएर आफागुन २८ गते नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए ।
ओलीको उक्त निर्णयको विरोध गर्दै नेपाल समूहले देशभर समानान्तर कमिटीहरु बनाउने निर्णय गरेको थियो । अहिले जनवर्गीय संगठनदेखि जिल्ला कमिटीहरुमा नेपाल समूहले समानान्तर कमिटी निर्माण गरिसकेको छ ।
ओलीले पार्टी पूर्वअवस्थामा फर्काउन तयार थिएन । सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसदलाई पुनर्वाहाली गर्दै अहिलेको एमाले अवैधानिक भएको फैसला गरेपछि ओली पूर्ववत् अवस्थामा फर्किन बाध्य भएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्काएर नेपाल समूहमाथि कारवाहीको डण्डा लगाउने तयारी ओलीको बताएको भन्दै नेपाल समूहका केही नेताहरुले भोलिको बैठकमा जान नहुने बताउँछन् ।
आफू पार्टीलाई पूरानै अवस्थामा फर्काउन तयार रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल पक्षका २६ सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेका थिए । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि ओलीले नेता नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निस्कासन गरेका थिए ।
यो बैठकमा कारवाही गरिएका ११ नेतालाई खबर गरिएको छैन ।