
काठमाडौँ । आज असार १५ गते । वर्षभरीको लागि ‘माना रोपेर मुरी फलाउन’ कृषक रोपाईमा व्यस्त हुने दिने । सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएपछि आज विशेष कार्यक्रम आयोजना गरिन्छ ।
यो वर्ष समयमै मनसुन भएकाले कृषकहरु खेतबारीमा छन् । दिवस मनाउनु भन्दा पहिले पनि कृषकहरु आज अर्थात असार १५ गते दही चिउरा खाएर रमाइलो गर्दै रोपाई गदर्थे ।
कृषकहरु असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोप्ने भएकोले ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ गीत रचिएको थियो । यो गीत निकै लोकप्रिय छ । यो गुनगुनाउँदै युवायुवती पनि रोपाइमा व्यस्त हुने गर्छन् ।
आज कृषकहरुले खेतबारीमै दही च्यूरा खाएर रमाइलो गर्ने गरिन्छ । दही चिउराले कामको चटारोले थकित भएका किसान शक्ति प्राप्ति गर्द भन्ने जनमानसको बुझाई छ । आजलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
आज सरकारले औपचारिक कार्यक्रम गर्दै आएको थियो । यसपटक कोरोना भाइरस संक्रमणको जोखिम भएकोले विशेष कार्यक्रम आयोजना नगरिएपनि किसानाहरुलाई उत्साहित हुने सन्देश दिएको छ ।
हुन त धान दिवसको दिनमा गरिएका कार्यले मन्त्री र सरकार अधिकारीको बदनाम हुने गरेको छ । कृषि मन्त्री हरी पराजुलीले रक्सी खाएर रोप्नेरीलाई गरेको हर्कतका कारण राजिनामा दिनु परेको थियो । माओवादी नेता हरिबोल गजुरेलले गमलामा धान रोपेर आलोचनाको पात्र भएका थिए ।
सरकारले दिवस घोषणा गरेपनि आवश्यक योजना तथा मल र बिउ उपलब्ध नगराएको गुनासो किसानहरुले गर्दै आएका छन् ।