
काठमाडौं । आजबाट काठमाण्डौ उपत्यकामा सार्वजनिक सवारी साधन खुलेका छन् । २५ सिट भन्दा माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीमा संचालन भएका हुन् ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा सार्वजनिक यातायात संचालनमा रोक लगाइएको थियो । राजधानीबाट लामो दूरीमा र एक जिल्लाबाट अर्को जिल्लामा संचालन हुने सार्वजनिक बसहरु भने अझैं रोक लगाइएको छ ।
त्यसैगरी कोरोना सङ्क्रमणदर केही कम भएसँगै आजबाट धेरै जिल्लाहरुमा निषेधाज्ञा खुकुलो बनाइएको छ । तर, जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा किराना पसल दिनैभरी संचालन गर्न पाइने भएको छ । सोमबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर किराना पसलहरु संचालन गर्न दिइने निर्णय गरेको थियो ।
पछिल्लो पटक थप गरेको निषेधाज्ञा गएरातिबाट सकिएको थियो । सिडिओको संयुक्त बैठकले निषेधाज्ञा एक हप्ता थप गरेको छ ।
आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । बैठकले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन दिने निर्णय पनि गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आग्रह गरेको छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नु पर्नेछ । निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणाली सुरु भइसकेको छ ।
यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरी÷पुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
यसअघि यी पसलहरुलाई वार तोकिएको थियो । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, चिडियाखानालगायत भीडभाड हुने क्षेत्र भने खुल्ला गरिएको छैन । थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ ।
- फाइल फोटो