![](https://onlinedabali.com/wp-content/uploads/2021/05/corona-dabali-scaled-e1724467785544.jpg)
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३४ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ जना निको भएर सामान्य जीवनमा फर्र्किएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।
आज काठमाडौँ उपत्यकामा आज ४ सय २४ जना संक्रमित थपिएका छन् ।
यसैबीच काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी भइरहेको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्नेबारे आइतबार तीनै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेपनि निर्णय हुन सकेन ।
अब थप गरिने निषेधाज्ञामा सार्वजनिक यातायात पनि संचालन गर्ने तयारी भइरहेको छ । अहिले निजी सवारी सधानमा जस्तै सार्वजनिक सवारी साधनमा पनि जोरविजोर प्रणाली लागु गरी संचालन गर्नेबारे छलफल भइरहेको छ ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् ।
उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।