
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै स्थगित भएका उडानहरु शर्तसहित पुनः खुला गर्ने सरकारले निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरेको थियो । उक्त निर्णय मंगलबार मन्त्रालयमा पुगिसकेको छ भने आज मिति र उडान तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।
त्यसैगरी अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने सरकारले निर्णय गरेको छ । अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।
काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको हो ।अन्तर्राष्ट्रिय उडानका लागि सरकारले तय गरेको कोटा यस्तो छ ।
काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई गरी हप्तामा चार उडान हुनेछ । काठमाडौँ–इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २ उडान हुनेछ । काठमाडौँ–दुबई रुटमा नेपाली वायुसेवाको २ उडान र संयुक्त अरब इमिरेट्सबाट सम्बन्धित मुलुकको वायुसेवाको २ गरी हप्ताको चार उडान हुनेछ ।
त्यस्तै काठमाडौँ–दमाम रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ । काठमाडौँ–कुवेत सिटी रुटमा कुवेतको वायुसेवाको हप्तामा २ उडान हुनेछ । काठमाडौँ–मस्कट रुटमा ओमानको वायुसेवाको हप्तामा १ उडान हुनेछ ।
यस्तै काठमाडौँ–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ र मलेसियाको वायुसेवाको २ गरी हप्तामा ४ उडान हुनेछ । काठमाडौँ–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान हुनेछ ।
त्यस्तै काठमाडौँ–टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ उडान हुनेछ । काठमाडौँ–छेन्दु र काठमाडौँ–ग्वानझाओ रुटमा नेपाली वायुसेवाको १–१ र चीनको वायु सेवाको १–१ गरी हप्तामा २–२ उडान हुनेछ ।