
काठमाडौं । आज संसद विघटनविरुद्ध परेका १९ रिटको सुनुवाई हुँदैछ । संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका १९ वटा रिटको आज सुनुवाई हुन लागेको हो ।
आज पेशी तोकिएका १९ रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा राखिएका छन् । जबरा आफैले ११ रिट आफ्नो एकल बेन्चमा हुनुवाई हुने गरी तोकेका छन् ।
सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको जबराले एकल इजलासमा राखेका छन् भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।