
काठमाडौँ । अरब सागरबाट आएको शक्तिशाली चक्रवातले भारतमा ठूलो प्रभाव पारेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार अरब सागरमा विकास भएको चक्रवातका तीव्र गतिको हावाहुरी र भीषण वर्षा भइरहेको छ ।
सबैभन्दा धेरै मुम्बई प्रभावित भएको बताइएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएका छन् ।
चक्रवातका कारण २० जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएको भारतीय अधिकारीहरुले बताएका छन् । यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । समुद्रमा चार मिटरसम्म लहर उठेको छ । यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गरेका छन् । केन्द्र सरकारले सक्दो सहयोग गर्ने मोदीले बताएका छन् ।
मौसमविदका अनुसार चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । यसको प्रभाव शुक्रबारसम्म रहने भन्दै मौसमविदले सुझाव दिएका छन् ।
यसैबीच चक्रवातका कारण मौसम बदलीसँगै सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ ।
विभागका निर्देशक मीरा आचायले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई गरेकी छन् । अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन् । वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।
यस मौसमी प्रणालीले आज विहानैबाट देश भरको मौसम बदली भइरहेको छ । केही पहाडी भेगमा हल्लाका वर्षा पनि सुरु भएको बताइएको छ । चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।