काठमाडौं । ओली समूहतिर लागेका पूर्र्वमाओवादी नेता मणी थापा एमालेमै रहेन घोषणा गरेका छन् । सर्वोच्च (नेकपा) एकता खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि नेता थापाले माओवादी केन्द्रमा नफर्किने बताएका छन् । प्रचण्ड समूहतिर लागेका नेता माधव कुमार नेपाल, झलनाथ खनालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने निर्णय गर्दैगर्दा थापाले भने सो भनाई सार्वजनिक भएको हो ।
खानेपानी मन्त्री समेत रहेका थापा सांसद नभएकोले एमालेमै रहन सजिलो भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि थापालाई मन्त्रीमा नियुक्त गरेका थिए । थापाले अदालतको फैसलाको सम्मान गर्ने बताउँदै केपी ओलीले नेतृत्व गर्ने एमालेमै रहने बताएका छन् । उनले आफूहरु राजनीतिक निर्णय गरेर ओलीतिर लागेकोले अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्किने बताए ।
“अदालतको फैसला आफ्नो ठाउँमा छ । राजनीतिक निर्णय मुख्य कुरा हुन्छ । हामी अदालतको कुरा मान्छौं र केपी ओलीलाई साथ दिँदै उहाँकै नेतृत्वमा रहेको नेकपा एमालेमै रहन्छु” थापाले भने । माओवादी केन्द्रले एमालेमा लाग्दा कारवाही गर्छ भने त्यो उनिहरुको कुरा भए स्वीकार गर्ने समेत बताए ।
त्यस्तै ओली समूहतिर लागेका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझीले भने अझै निर्णय गरिसकेका छैनन् । तीनै जना सांसद हुन् । भट्ट र रायमाझी प्रतिनिधि सभा सदस्य हुन् भने बादल राष्ट्रिय सभा । त्यस्तै श्रममन्त्री गौरीशंकार चौधरी र प्रभु साहले पनि अहिलेसम्म निर्णय गरिनसेको बताइन्छ । उनीहरु सबै पूर्वमाओवादी नेताले सांसद पदकै लागि पनि माओवादी केन्द्रमै फर्किने उनी निकट नेताहर बताउँछन् ।
पाँचै नेता एमालेमै रहे उनीहरुमाथि कारवाही हुनेछ र सांसद पद गुम्नेछ । तर पनि उनीहरु आफू निकट नेताहरुसँग अन्तिम परामर्शमा रहेका छन् । त्यस्तै, राज्यमन्त्री दावा लामाले पनि अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन् ।
प्रचण्ड समूहतिर लागेका पूर्वएमाले नेताहरुले हात मिलाउँदै पेरिसडाँडाबाट बाहिरिएका थिए । यसअघि प्रवक्ता रहेका नेता नारायणकाजी श्रेष्ठले (नेकपा) को नाममा आजको बैठक अन्तिम भएको प्रतिक्रिया दिए ।
प्रचण्ड समूहको आजको बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रभावित भएको निष्कर्ष निकाल्दै पुनरावोलनक गर्ने निर्णय समेत गरेको छ ।